गृहपृष्ठ खबर बिरामी प्रधानमन्त्रीले डाक्टर नै चकित पारे

बिरामी प्रधानमन्त्रीले डाक्टर नै चकित पारे

प्रकाशित मिति:

स्वास्थ्यमा क्रमिक सुधार आएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालको बेडबाटै सक्रियता देखाएका छन्।

प्रधानमन्त्री ओली बिहीबार बिहानैदेखि हिँड्न थालेका छन् भने उनले जाउलो र दालसमेत खाएका छन्।

आजै उनले आफ्नो स्वास्थ्यमा सुधार आएको भन्दै आफ्नो स्वास्थ्य अवस्थाबारे चासो राख्ने सबैलाई धन्यवाद भनेका छन्। एपेन्डिसाइटिसको शल्यक्रिया गरेको तेस्रो दिनमै प्रधानमन्त्री ओली आफैंले आफ्नो ट्वीटर ह्याण्डल चलाएका थिए।

प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ। दिउँसो प्रधानमन्त्रीलाई त्रिवि शिक्षण अस्पताल सार्नेबारे समेत छलफल भएको थियो। यद्यपी चिकित्सकहरूले प्रधानमन्त्री ओलीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमै राख्ने निर्णय गरेका छन्।

प्रधानमन्त्रीको सक्रियता र आत्मबल देखेर उपचारमा संलग्न चिकित्ससमेत चकित परेका छन्।

‘प्रधानमन्त्रीज्यू बुधबार बोल्न थाल्नुभएको हो। तर बुधबार नै उहाँ बेडबाट उठेर एकैचोटि ऐया ऐया… भन्दै सोफामा बस्नुभयो,’ एक चिकित्सकले भने,’हामी त उहाँको आत्मबल देखेर चकित भएका छौं। यति धेरै आत्मबल भएको बिरामी त मैले अहिलेसम्म देखेकै थिइनँ।’

प्रधानमन्त्री ओली चिकित्सकहरूसँग हाँसो ठट्टा गर्नेसमेत गर्छन्। चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीको प्रेसरमा समस्या छैन भने ज्वरो पनि आएको छैन।

प्रधानमन्त्री ओलीले अस्पतालको बेडबाटै काठमाडौंका सडकको खाल्डाखुल्डीबारे चासो लिएका छन्।

काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न दिएको निर्देशन अनि चौमासिक प्रगतिबारे छलफल भएपछि दिएको निर्देशन समेटेर बनाउन लागिएको निर्देशन पुस्तिकाबारे समेत उनले चासो दिएका छन्।

गत बिहीबार प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरू राखेर चौमासिक प्रगतिबारे जानकारी लिएका थिए भने चार महिनाभित्र काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न निर्देशन दिएका थिए। त्यसयता काठमाडौंका सडकका खाल्डा खुल्डी पुर्ने काम पनि भइरहेको छ।

प्रधानमन्त्री ओलीले आज सल्लाहकार र सचिवालयका केही सदस्यहरूसँग समेत भेट गरेका थिए।

सम्बन्धित् समाचार