गृहपृष्ठ पत्रपत्रिका बाट विद्यार्थीको आत्मविश्वास कसरी बढाउने ?

विद्यार्थीको आत्मविश्वास कसरी बढाउने ?

प्रकाशित मिति:

शिक्षक स्वयम् आत्मविश्वस्त र आदर्श हुनुपर्ने

हरेक शिक्षकले विद्यार्थीले ‘मैले भनेका कुरालाई भन्दा गरेका कुरालाई छिटो र सजिलो गरी सिक्छन्’ भन्ने सम्झनुपर्दछ । बाहिरी वातावरणको प्रभाव हरेकभित्र पर्दछ । बाहिरको मानिसको भावभङ्गिमा, हिँड्डुल, लवाइखवाइ, बोलीचालीजस्तो छ हामी पनि उस्तै प्रकारले तयार हुने गर्दछौँ । विद्यालयमा हाम्रा बालबालिका त झन् हाम्रा कुरामा विशेष चासो राख्ने खालका हुन्छन् । त्यसैले, उनीहरुले हामीलाई देख्दा तिनका अगाडि हामी रोलमोडेलका रुपमा देखिन सक्नुपर्दछ । हामीले देख्ने मानिस वा हामीलाई आज्ञा, आदेश, ज्ञान वा सीप सिकाउने मानिस हँसमुख, आकर्षक र भरपर्दो होस् भन्ने सबैको चाहना हुन्छ ।

घरमा हाम्रा बाबुआमा दुःखी छन्, गरिब छन्, चिन्तित छन् भने हामी पनि बलिया र प्रसन्न हुन सक्दैनौँ, तर उहाँहरु खुसी हुनुहुन्छ वा ढुक्क हुनुहुन्छ भने हामी पनि त्यसै खुसी हुन्छौँ, नभएको शक्ति पनि कताकताबाट आउँछ । देवकोटाको ‘मुदामदन’मा ‘तिमीले हाँसे म हाँक्न सक्छु, इन्द्रको आसन’ भनेर मदनले मुनालाई भनेको वाक्य अत्यन्त मह¤वपूर्ण छ । हामी प्रायः अरुलाई खुसी बनाउन होइन, आफू खुसी हुन खोज्छौँ । त्यति मात्रै पनि होइन, अरुलाई दुःखी बनाएर आफू खुसी हुनसमेत खोज्छौँ । त्यसरी कहिल्यै खुसी हुन सकिँदैन । हाम्रो वरपरका दुःखी हुनु भनेको हाम्रो आत्मबल घट्नु हो, हामी पनि कमजोर हुनु हो, दुःखी हुनु हो ।

यदि विद्यार्थी बलियो होस् भन्ने चाहने हो भने शिक्षक पहिला बलियो हुनुपर्दछ, उच्च आत्मविश्वासले युक्त हुनुपर्दछ । कहिलेकाहीँ कुनै व्यक्ति मञ्चमा गएर बोल्न थाल्दा यदि आत्मविश्वास गुमाएर बोलेको छ, तयारी राम्रो गरेको छैन, अकमकाएको छ, डराएको छ भने उसले बोलेको सुन्न वा हेर्न बसेका हामीलाई पनि अप्ठ्यारो लाग्छ । हाम्रो अगाडि गएर बोल्ने मानिस ढुक्कले हाँसेर, खुसी भएर बोलोस् भन्ने हाम्रो चाहना हुन्छ ।

विद्यार्थी पनि ‘कक्षामा अगाडि गएर पढाउने सर वा मिस आफूले पढाउने विषयवस्तुमा ढुक्क भएको हुनुहोस्, कुनै समस्या नआओस्, मैले सोधेका प्रश्नको उत्तर आरामले प्राप्त गर्न सकूँ’ भन्ने चाहेका हुन्छन् । त्यसैले, यदि बालबालिकामा आत्मविश्वास भर्ने हो भने उनीहरुले शिक्षक आत्मविश्वासले भरिएको, सबैको प्रिय र हँसमुख देख्नुपर्दछ । सबै कुरा जानेको, बुझेको, आकर्षक र आत्मविश्वासले युक्त शिक्षकलाई देखेर बालबालिकाभित्र पनि अदम्य साहस र ऊर्जा सञ्चार हुन्छ । तसर्थ, आफू उच्च आत्मविश्वासले युक्त नमुना व्यक्तित्व बन्ने कुरामा ध्यान दिनुपर्दछ, किनकि बालबालिकाले सिक्ने भनेकै शिक्षकबाट हो । त्यसैले शिक्षक आफैँमा विश्वस्त हुन सक्नुपर्दछ ।

तयार हुन सिकाउने

कुनै पनि कुरामा पूर्वतयारी नहुने व्यक्तिमा कहिल्यै पनि आत्मविश्वास हुँदैन । तयारी छ भने बल त्यसै आउँछ, काम गर्ने जाँगर र जोस पनि आउँछ । बालबालिका मानिसको अगाडि गएर बोल्न, आफ्ना कुरा खोल्न, उभिन डराउने कारणमध्ये तयारी नहुनु पनि हो । शिक्षकले उनीहरुभित्र ‘तयार हुने’ संस्कार सिकाउनुपर्दछ । गृहकार्यको तयारी हुन सक्छ, वक्तृत्व छ भने त्यसका लागि आवश्यक अध्ययन, अभ्यास आदिको तयारी हुन सक्छ, पढेर सुनाउनु छ भने पढाइको तयारी हुन सक्छ । अनेक तयारी हुन सक्छन् । बालबालिका प्रायः सरमिसले प्रश्न गर्दा हात उठाउन डराउने, जवाफ दिन आनाकानी गर्ने, अगाडि जान अप्ठ्यारो मान्ने गर्दछन् । त्यसो हुनुको प्रमुख कारणमा ‘तयारी नहुनु’ पर्दछ ।

अर्को कुरा, बालबालिकालाई कुनै पनि विषयमा तयार हुनका लागि त्यस विषयलाई रूचिपूर्ण, चाखलाग्दो, उपयोगी र आकर्षक बनाउनुपर्ने हुन्छ । हरेक कुरालाई यदि उनीहरुले रूचिका साथ लिए भने त्यसका लागि उनीहरु तयार हुन्छन् । आफूलाई मन परेको विषयमा आवश्यक सबै तयारी हुन सक्छ र त्यसले व्यक्तिभित्र उच्च आत्मविश्वास बढाउँछ ।

समूह तथा जोडी कार्यका लागि प्रेरित गर्ने

बालबालिका अगाडि बढ्न हिचकिचाउने अर्को कारण भनेको एक्लो हुनु पनि हो । उनीहरुलाई जोडी बनाएर अथवा समूह बनाएर काम गर्न लगाइयो भने त्यही समूहभित्र नै आवश्यक सुधार गर्ने, तयारी गर्ने, सिक्ने, सेयर गर्ने र सहयोग गर्ने अवसर पाउँछन् । उनीहरु एकैपटक शिक्षकहरुका अगाडि वा अन्य अपरिचित मानिसका अगाडि खुल्न सक्दैनन् । समूहमा भने सहजै खुल्न सक्छन्, साथीहरुबीचमै धेरै सिक्न र प्रस्तुत गर्न सिक्छन् । यसबाट बिस्तारै उनीहरुभित्रको सकस र दकस हटेर जान्छ र आत्मविश्वासका साथ अघि बढ्न सक्ने हुन्छन् ।

दुई जना भएर अभ्यास गर्दा वा समूहमा रहेर सिक्दा बालबालिकाभित्र सामूहिक उत्तरदायित्व र जवाफदेहिता पनि बढेर जान्छ । हार्दिक भावनाको विकास हुन्छ । ‘म एक्लो छैन, साथीहरु मसितै छन्’ भन्ने भावनाको विकास हुन्छ । यो पनि बालबालिकालाई आत्मविश्वासी बनाउने प्रभावकारी उपाय हो ।

पृष्ठपोषण, सरसल्लाह र सुझाव

चाहे पढाइमा होस्, खेलकुदमा होस् वा अघि बढ्ने कार्यमा होस्, उनीहरुलाई निरन्तर सल्लाह, सुझाव र पृष्ठपोषणको आवश्यकता पर्दछ । यसो गर्दा तिनले बिग्रिएका कुरामा सुधार गर्न पाउँछन्, बाँकी रहेका अभाव पूरा गर्न पाउँछन् भने आफ्नो तयारीलाई थप सुदृढ तुल्याउन सक्छन् ।

उनीहरुले एक प्रकारले सोचेका हुन्छन्, तयारी गरेका हुन्छन् । त्यसलाई एकैपटक अरुका अगाडि प्रस्तुत गर्दा कति कुरा नमिलेका कारण अरुको अपमान र हाँसोको पात्र बन्ने अवस्था पनि आउन सक्छ र त्यसले आत्मबल कमजोर बनाउन पनि सक्छ । त्यसो नहोस् भन्नका लागि शिक्षकले बालबालिकालाई बेलाबेलामा उनीहरुका अध्ययन, अभ्यास, अतिरिक्त क्रियाकलापलगायतका विषयलाई ख्याल गरेर उनीहरुसितै नजिक भएर आवश्यक सल्लाह र परामर्श प्रदान गर्नुपर्दछ । त्यसपछि बालबालिकाले ‘मलाई अप्ठ्यारोमा साथ दिने वा सल्लाह र सुझाव दिने सर÷मिस हुनुहुन्छ । म किन डराउने ?’ भन्ने ठान्छन्, जुन आत्मबलको सबैभन्दा बलियो आधार हो । यस्ता खालका परामर्श र पृष्ठपोषण बालबालिकाका अनेक आयाममा आवश्यक पर्दछन् र शिक्षकले जिम्मेवार भएर ती आवश्यकतालाई पूरा गरी बालबालिकालाई आत्मविश्वासले युक्त तुल्याउने काम गर्नुपर्दछ ।

प्रशंसा गर्ने, उत्साहित तुल्याउने

चाहे बालक होस्, चाहे वृद्ध होस्, सबैलाई प्रशंसा प्रिय हुन्छ । कसैलाई पनि हतोत्साहित तुल्याउनुहुँदैन । बालबालिकाले कुनै प्रयास गरेर केही कुरा तयार गरी शिक्षकलाई देखाउन ल्याए, तर शिक्षकले ‘के गरेको यस्तो ? यस्तो पनि बनाउने हो ? भएन । खत्तम भयो ।’ भनेर प्रतिक्रिया दिने हो भने अगाडिको विद्यार्थीको अनुहार पूरै बिग्रन्छ, कान्ति नै बदलिन्छ । ऊ अत्यन्त हतोत्साहित हुन्छ । यो कुनै तरिका होइन ।

बालबालिका प्रशंसा र स्नेह पाएर नै अघि बढ्न सक्छन् । हरेक शिक्षकको काम बालबालिकालाई अगाडि बढाउनु हो, पछि धकेल्नु होइन । निश्चय पनि मानिसले काम गर्र्दै जाँदा बिग्रन सक्छ । ठूला र परिपक्व मानिसले त काम बिगारेका हुन्छन् भने भर्खर सिक्दै गरेका सिकारूले नबिगार्ने भन्ने हुँदैन । तर, उनीहरुले कतै पनि कुनै पनि कुरा राम्रो गर्दैनन् भन्ने हुँदैन । कतै न कतै केही न केही कुरामा हरेक बच्चाले राम्रो गरेका हुन्छन् । शिक्षकको काम ती राम्रा कुरा पत्ता लगाउने र बालबालिकालाई प्रशंसा गर्ने हो । नराम्रो कुराप्रति होइन, राम्रो कुरा प्रति रूचि राख्ने शिक्षकका विद्यार्थीले पनि नराम्रा कुरामा रूचि राख्दैनन् । बालबालिकालाई यसरी उनीहरुले गरेका राम्रा कुरामा प्रशंसा, स्याबासी र धन्यवाद दिँदा उनीहरुभित्रको आत्मविश्वास पनि प्रबल भएर जान्छ ।

बच्चाका गल्तीहरुलाई सप्रेम स्वीकार्नु

बालबालिका सबैभन्दा धेरै गल्ती गर्दा डराउँछन् । बालबालिकामात्रै होइन, गल्ती गर्दा डराउने सबै मानिसको स्वभावै हुन्छ । ठूला मानिसले चित्त बुझाउन सक्छन् भने सानाले सक्दैनन्, यही फरक हो । यस्तो बेलामा उनीहरुको ढुकढुकी बढ्छ, अनुहार रातोपिरो हुन्छ, शरीरबाट पसिना निस्कन्छ । साना बालबालिका रहेछन् र गल्ती अल्लि ठूलै रहेछ भने त झन् बढी समस्यामा पर्ने गर्दछन् ।
गल्ती गरेपछि बालबालिका ‘अब सबैले गाली गर्छन्, पिट्छन्, सजायँ दिन्छन्, मेरो बेइज्जत हुन्छ’ जस्ता कुराले बढी चिन्तित हुने हुन् । यस्तो अवस्थामा उनीहरुले आफूलाई माया गर्ने मानिस चाहन्छन्, माफ गर्ने मानिस चाहन्छन् ।

बालबालिकाले गरेका गल्तीलाई इस्यु बनाउने कति शिक्षक हुन्छन् । त्यही विषयलाई उचालेर उसको शैक्षिक अवनतिमा मलजल प्रदान गर्ने गरिएको पनि छ । यस्तो अवस्थामा बालबालिकालाई गल्तीको महसुस गराई ढुक्क हुने वातावरण बनाउनुपर्दछ ।
बालबालिकाको गल्ती त्यस्तो उपल्लो स्तरको र जघन्य प्रायः हुँदैन, जसलाई हामीले क्षमा दिन नसकौँ । साथीभाइसित चल्ने, भनेको नमान्ने, पिट्ने, कापीकलम च्यात्ने, फुटाउने अथवा यस्तैयस्तै । यस्तो अवस्थामा उसलाई बोलाएर प्रेमपूर्वक सम्झाउने, गल्ती गर्न हुँदैन भन्ने पार्नुपर्दछ, तर हामीदेखि डराउने बनाउनुहुँदैन ।

प्रायः हामी बालबालिकाका गल्तीप्रति अल्लि बढी नै कठोर बन्दछौँ । ती गल्तीहरुमा दुःखी हुने होइन, तिनलाई स्वीकार्ने हो, प्रेमका साथ । यसले बालबालिकालाई भयग्रस्त बनाउँदैन । उसले क्षमा पाएपछि अर्कोपटकदेखि पुनः गल्ती गर्दैन भने क्षमा दान गर्ने शिक्षकप्रति सधैँ नतमस्तक हुन्छ । उसले ‘त्यो सर÷मिसले मलाई माया गर्नुहुन्छ’ भन्ने ठान्छ । उसको आत्मविश्वास गुम्दैन ।

शैक्षिक विषयमा चुनौती दिने

बालबालिकालाई बेलाबेलामा चुनौती पनि दिनुपर्दछ, विचार गरेर । स्वभावैले मानिस ‘म केही हुँ’, ‘मैले केही गर्न सक्छु’ भन्ने प्रकृतिको हुन्छ । अरुले नसकेको काम आफूले सकेर देखाउँदा उसलाई गौरव लाग्छ । सानोतिनो काम गरिरहेको बेलामा अल्लि ठूलो समस्या दिएर ‘ल, तिमीले यो गर्न सक्छौ ?’ अथवा ‘ल, तिमी साँच्चै नै क्षमतावान् छौ भने यो गरेर देखाऊ’ भनेर चुनौती दिन सकिन्छ । यसबाट बालबालिकाभित्र खतरा मोल्ने बानीको विकास हुन्छ । खतरा भन्नुको अर्थ भयानक र जघन्य खतरा होइन, ऊ सुहाउँदो खतरा हो । मानिसले खतरा अर्थात् अप्ठ्यारोसित पनि खेल्न सक्नुपर्दछ, बेलाबेलामा । बालबालिकाले चुनौतीसित पनि खेल्न सिक्नुपर्दछ । यदि उसले त्यो खतरालाई जित्यो भने उसभित्र यति धेरै आत्मविश्वास पैदा हुन्छ, जो शब्दमा मापन गर्न सकिँदैन । त्यस्तो चुनौती शैक्षिक विषयमा दिन सक्नुपर्दछ ।

यदि कुनै विद्यार्थीले पहिलो त्रैमासिक परीक्षामा बी प्लस नतिजा ल्याएको छ भने उसलाई ‘ल, अब ‘ए ग्रेड’ ल्याएर देखाऊ’ भन्न सकिन्छ । कक्षामा एउटाले ‘अनुशासन’ शीर्षकमा निबन्ध लेखेको छ भने उसलाई ‘ल, राष्ट्रभक्ति शीर्षकमा अर्को निबन्ध लेखेर देखाऊ, अनि म तिमीलाई बल्ल मान्छु’ भनेर चुनौती दिन सकिन्छ । यो चुनौती उसले नसक्ने खालको भने हुनुहुँदैन । एउटा शीर्षकमा निबन्ध लेख्नेले अर्कोमा नसक्ने भन्ने हुँदैन, तर जब लेख्छ उसलाई अपार हर्ष हुन्छ, ऊ आफूलाई त्यसपछि साँच्चै नै ‘खास’ ठान्न थाल्छ । उसको आत्मविश्वास अचम्मसित विकसित हुन पुग्दछ । यसर्थ, बेलाबेलामा उनीहरुलाई शैक्षिक विषयमा चुनौती दिन सकिन्छ र आत्मविश्वासी बन्न प्रेरित गर्न सकिन्छ ।

अभ्यासका लागि अवसरहरु प्रदान गर्ने

अङ्ग्रेजीको कथन हामी सबैलाई याद छ, ‘प्राक्टिस मेक्स अ म्यान परफेक्ट’, अर्थात् अभ्यासले नै मानिसलाई महान् बनाउँछ । हरेक सुखद र दुःखद नतिजाहरु हाम्रै अभ्यासका परिणाम हुन् । थोरै अभ्यास, थोरै नतिजा; धेरै अभ्यास, धेरै नतिजा । राम्रो कामको अभ्यास राम्रो नतिजा, नराम्रो कामको अभ्यास नराम्रो नतिजा । हामीले धेरै पढाएर पनि बालबालिकाले अभ्यास गरेनन् भने पढाइको अर्थ हुँदैन । एकपटक पढेको वा सिकेको कुरा बारम्बारको अभ्यासले मात्रै स्मरणीय र फलदायी हुन्छ । अभ्यास गर्ने मानिसले नै पूर्णता हासिल गर्दछ । जब व्यक्तिले पूर्णता हासिल गर्दछ, तब उसभित्र अचम्मको आत्मविश्वास पैदा हुन्छ । उसले जानेको छ, त्यसैले ढुक्क छ । ढुक्क हुनु भनेको आत्मविश्वासी हुनु हो । आत्मविश्वासको अर्थ आफूमाथिको विश्वास हो । आफूमाथिको विश्वास भनेको आफूभित्रको क्षमता, शक्ति, प्रतिभा, ज्ञान र व्यक्तित्वप्रतिको भरोसा हो । यिनै कुराले नै हामीलाई अघि बढ्न प्रेरणा दिन्छन् ।

त्यसैले, असल शिक्षकले जहिले पनि विद्यार्थीले अभ्यास गर्ने अवसर प्रदान गर्नुपर्दछ । बारम्बार जब बालबालिकाले अभ्यास गर्दछन्, त्यही अभ्यासले नै तिनलाई आवश्यक उत्साह प्रदान गर्दछ । अभ्यास गर्नबाट कोही पनि वञ्चित नहोऊन् भन्नेतिर शिक्षक सचेत हुनुपर्दछ ।

जिम्मेवारी दिने

बालबालिकामा आत्मविश्वास बढाउने अर्को तरिका उनीहरुलाई जिम्मेवारी दिनु पनि हो । जिम्मेवारीले सिक्ने अवसर दिन्छ । सिकेपछि मानिस बलियो हुन्छ । बालबालिका अनेक क्षमता र स्वभावका हुन्छन् । तिनको क्षमता र त्यही स्वभाव पत्ता लगाएर जिम्मेवारी दिन सकियो भने नतिजा पनि राम्रो आउँछ । कसैलाई कक्षाको मनिटरको जिम्मेवारी दिन सकिन्छ । कसैलाई गृहकार्य जम्मा गर्ने जिम्मेवारी दिन सकिन्छ । विद्यालयका विभिन्न समितिहरुमा राखेर काम गराउन सकिन्छ । प्रार्थना सभामा गएर प्रवचन गर्ने, विचार प्रस्तुत गर्ने, चुट्किला सुनाउने, हाजिरीजवाफको प्रश्न सोध्ने, सरसफाइको नेतृत्व गर्नेजस्ता विविधि जिम्मेवारीहरु दिएर तिनलाई जवाफदेही बनाउनुका साथै प्रचण्ड आत्मविश्वासले युक्त विद्यार्थी पनि बनाउन सकिन्छ । जिम्मेवारी पाउँदा बालबालिका खुसी पनि हुन्छन् । आफू ‘विशेष’ भएको अनुभूति गर्दै विश्वासका साथ अघि बढ्छन् ।

आचार्य लक्ष्मण भण्डारी

[प्रतिक्रियाका लागि : acharyalb@gmail.com]

सम्बन्धित् समाचार