गृहपृष्ठ अर्थ/वाणिज्य सुन्तलाबाट लाखौं आम्दानी

सुन्तलाबाट लाखौं आम्दानी

प्रकाशित मिति:

दमौली  — तनहुँको म्याग्दे गाउँपालिका–२ खानीगाउँका किसान सुकनारायण श्रेष्ठले यस पटक ५० लाख रुपैयाँमा बगानबाटै सुन्तला बेचे । गत वर्ष ३१ लाख रुपैयाँको सुन्तला बेचेका उनले अहिले सुन्तला बढी फलेको बताए । ‘मौसमले साथ दिएकाले सुन्तला उत्पादन राम्रो भएर पैसा पनि राम्रै पाइयो,’ उनले भने, ‘खुद्राभन्दा होलसेलमै बेच्दा धेरै सहज भयो ।’ २०४६ सालबाट सुन्तला खेती गर्दै आएका उनका ४० रोपनी क्षेत्रफलमा ७ सय सुन्तलाका बोट छन् ।

विश्वबहादुर अधिकारीले पनि सुन्तलाबाट लाखौं आम्दानी लिँदै आएका छन् ।

तत्कालीन जिल्ला विकास समिति तनहुँका सभापतिसमेत रहेका अधिकारीले यस वर्ष सुन्तलाको बगान ४० लाख रुपैयाँमा बिक्री गरे । गाउँको भिरालो जमिनलाई सदुपयोग गर्न २०५२ सालबाट व्यावसायिक सुन्तला खेती सुरु गरेका थिए उनले । ‘सम्भावना देखेर सुन्तला खेती थालेको हुँ,’ उनले भने, ‘राम्रै आम्दानी लिइरहेको छु । सन्तुष्ट छु ।’ सुन्तलाबाट भएको आम्दानीले छोरा इन्जिनियर र छोरी डाक्टर भइसकेको उनले बताए । सुन्तला बगैंचा सुदृढीकरण, गोडमेल, मलखाद व्यवस्थापन, समयमा औषधोपचार गर्न सके सुन्तलाको दाना राम्रो, रसिलो, गुलियो र उत्पादन राम्रो हुने उनको अनुभव छ । बगानसम्म सडक सञ्जाल जोडिएकाले सुन्तला बिक्रीका लागि सहज भएको छ । बर्सेनि सुन्तला खरिद गर्न ठेकेदार बगानमा नै आउने गरेको उनले बताए । ‘सुन्तला बिक्री हुँदैन भन्ने चिन्ता छैन,’ उनले भने, ‘बगानबाटै बिक्छ ।’

जिल्लाका विभिन्न किसानले अहिले बगानबाटै सुन्तला बेच्न थालेका छन् । सुन्तला किन्न ठेकदार घरघरै पुग्ने गर्छन् । जिल्लामा उत्पादित सुन्तला राम्रो भएकाले बर्सेनि ठूलो बगानमा ठेकेदारले सुन्तला ठेक्का लिने गरेका हुन् ।

खानीगाउँ, उमाचोकमा सुन्तला राम्रो भएकाले बगान नै ठेक्का लिएको ठेकेदार तुलबहादुर थापाले बताए । ‘तनहुँमा उत्पादित सुन्तलाका दाना राम्रा हुन्छन्,’ उनले भने, ‘त्यसैले बर्सेनि बगानै ठेक्का लिएका हौं ।’ म्याग्दे गाउँपालिका, व्यास नगरपालिका क्षेत्रमा उत्पादन भएका सुन्तला बगान गएर ठेक्का लिने गरेको उनले बताए । यहाँ उत्पादित सुन्तला काठमाडौंमा बिक्ने गरेको छ । उनले वर्षमा २४० टन सुन्तला खरिद गर्दै आएका छन् ।

सुन्तला टिपेपछि बगैंचा सुधार गर्न व्यस्त हुने किसानले बताए । सुन्तलाका बोट काँटछाँट, गोडमेल, मलजल र औषधोपचार गरिन्छ । बर्सेनिमा सुन्तला बगैंचा सुधार गर्न ५ लाख रुपैयाँभन्दा बढी खर्च हुने गरेको किसान अधिकारीले बताए । अधिकारीका भाइ निर्मलले पनि १८ लाख रुपैयाँमा सुन्तलाका बगान बेचेका छन् ।

तनहुँको म्याग्दे, राईपुर, वैदी, छिपछिपे, तनहुँसुर, बेनीकोट, बन्दीपुर सुन्तला खेतीको पकेट क्षेत्र मानिन्छ ।

सम्बन्धित् समाचार