गृहपृष्ठ खबर जलपरी गौरिकाले सनसनी मच्चाउँदै, सागको एउटै संस्करणमा जितिन् ४ स्वर्ण पदक

जलपरी गौरिकाले सनसनी मच्चाउँदै, सागको एउटै संस्करणमा जितिन् ४ स्वर्ण पदक

काठमाडौं, २३ मंसिर । नेपाली जलपरी गौरिका सिंहले सनसनी मच्चाउँदै दक्षिण एसियाली खेलकुद सागको एउटै संस्करणमा  ४ स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भएकी छिन् ।

 

जारी १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत ललितपुरको हिटिङ सिस्टमको पौडी पोखरीमा सोमबार भएको महिलाहरुको १ सय मिटर फ्रिस्टाइलमा गौरिकाले ५८ दशमलव १३ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् ।

यस स्पर्धामा भारतकी शिवांगी शर्माले ५८ दशमलव १५ सेकेण्डमा दूरी छिचोल्दै रजत र भारतकै एन्नी जैनले ५९ दशमलव ०४ सेकेण्डमा पूरा गरी काँस्य पदक जित्न सफल भइन ।

गौरिकाले यस अघि ४ सय मिटर फ्रिस्टाइल, दुई सय मिटर फ्रि–स्टाइल र दुई सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जित्न सफल भएकी थिइन् ।

लामो समय बेलायत बसेर पौडी प्रशिक्षण लिदै आएकी गौरिकाले यस अघि भारतमा सम्पन्न १२ औं सागमा पनि बिभिन्न स्पर्धामा रजत पदक दिलाएकी थिइन ।

रियो ओलम्पिकमा सहभागी खेलाडी मध्ये विश्वकै कान्छी खेलाडीको रुपमा नाम लेखाएर विश्वभर नेपाल चिनाएकी गौरिका रियो ओलम्पिकमा सहभागी हुँदा १३ बर्षकी थिइन् ।

गौरिका एएसलसीमा बोर्ड फस्ट ल्याउन सफल गरिमा राणा तथा पारस सिंहकी पुत्री हुन् ।

सम्बन्धित् समाचार