सपथ पत्रमा मर्यादित, जनपक्षीय र जिम्मेवार पत्रकारिताको लक्ष्यप्रति प्रतिवद्ध रहने, श्रमजिवी पत्रकारको हित रक्षाका लागि निरन्तर लागि रहने र समाजवाद स्थापनाको बाटोमा डटेर लाग्ने उल्लेख छ ।
कार्यक्रममा ‘प्रधानमन्त्रीसँग सञ्चारकर्मी’ कार्यक्रम राखेर प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले सम्बोधन गरेका छन् । प्रधानमन्त्री ओलीले स्रोत र साधन भएकाहरुले मिडियामा लगानी गरेर त्यसलाई प्रयोग गरेको धारणा राखे ।
अर्का अध्यक्ष प्रचण्डले बुर्जुवाहरुले सूचना प्रविधिको दुरुपयोग गरिरहेको बताए । प्रविधिलाई जनताको हितमा प्रयोग गर्न प्रेस संगठनका सदस्यहरु सिपालु हुनुपर्ने र बुर्जुवाहरुलाई जित्नुपर्ने भन्दै उनले भने, ‘त्यसका लागि तपाईको यो बटालियन कति सक्षम छ, तपाईंहरुका हतियार कति धारिला हुन्छन्, । विरोधीको हतियारलाई काउण्टर गर्न कति व्यवस्थित हुन्छन् भन्नेले जित हारको फैसला हुनेवाला छ ।’
बुर्जुवाहरुले श्रमजीविहरुलाई सजिलै नपत्याउने तर गद्दीबाट लगहत्याएपछि शासनसत्ताको अनुभव, पैसाको तागतले प्रतिक्रान्तिको तानाबाना बुन्ने गरेको प्रचण्डले सुनाए । उनले भने, ‘उनीहरुसँग पैसाको तागत हुन्छ, उनीहरुसँग अनुभवको तागत हुन्छ । उनीहरुसँग शासनसत्ता कसरी चलाउने भन्ने अनुभव हुन्छ । यसलाई प्रयोग गरेर फेरि प्रतिक्रान्ति गर्ने तानाबाना बुन्छन् ।’
पार्टी एकताका विषयमा जनतालाई राम्रोसँग बुझाउन नसकिएमा उनीहरुको नजरमा छिपछिपे र हल्का हुने खतरा बढ्नसक्नेतर्फ सचेत गराए । पार्टी एकता सत्ता प्राप्तीका लागि मात्रै नभएको उनले बताए ।