गृहपृष्ठ Featured पाँच नम्बर प्रदेशका जेष्ठ सांसद बलदेव क्यान्सरले सिकिस्त

पाँच नम्बर प्रदेशका जेष्ठ सांसद बलदेव क्यान्सरले सिकिस्त

प्रदेश नम्बर ५ का प्रमुख प्रतिपक्षी दलका नेता बलदेव शर्मा पोखरेल केही दिनदेखि रुपन्देही क्रिमिसन अस्पतालको सघन उपचार कक्ष (आइसियू) मा छन्।

फोक्सोमा देखिएको क्यान्सर शरीरका अन्य अंगमा पनि फैलिएपछि विगत एक वर्षदेखि उनी सक्रिय राजनीतिभन्दा टाढा छन्।गत वर्ष माघमा फोक्सोमा क्यान्सर देखिएका ८२ वर्षीय पोखरेल त्यसयता एकपछि अर्को अस्पतालमा उपचारका लागि पुगेका छन्, तै पनि रोग २० को १९ भएको छैन। संसदको वर्खे अधिवेशनदेखि नै पोखरेल संसदमा उपस्थित हुन सकेका छैनन्। क्यान्सर शरीरमा फैलँदै गए पनि उपचारका लागि विदेशका अस्पताल जान बुवा नमानेको पोखरेलका कान्छा छोरा मुक्तिले बताए।

पोखरेल विदेशका र स्वदेशका डाक्टर तथा औषधि उस्तै हुन् भन्ने ठान्छन्।‘विदेशमा पनि नेपालकै जस्ता डाक्टर हुन्। त्यही किताब पढेको हो, डाक्टर उस्तै-उस्तै त हुन् भन्नुहुन्छ,’ उनले भने, ‘दवाइ (औषधि) पनि एउटै खालको त हो, किन विदेश जाने भनेर बुवा मान्नु भएन।’पोखरेललाई किमो चढाउन भने छाडिएको मुक्तिले जानकारी दिए।

‘अहिले किमो बन्द गरियो,’ उनले भने, ‘बुवाको अवस्था नाजुक छ। बोल्न त बोल्नुहुन्छ।’ पोखरेलको उपचार सुरू गरेको वर्ष दिन हुन लाग्दा पनि निको हुनुको सट्टा झन् क्यान्सर मस्तिष्क, कलेजोजस्ता अंगमा सरेको छ।गत माघमा काठमाडौंस्थित हेम्स् अस्पतालमा परीक्षण गर्दा फोक्सोमा क्यान्सर देखिएको मुक्तिले बताए । ‘नेपाल क्यान्सर अस्पतालले भारतको राजिव गान्धी अस्पताल लैजान रिफर पनि गरेको थियो तर बुवा मान्दै मान्नुभएन। स्वदेशमै उपचार गर्नुपर्छ भन्ने उहाँको मान्यता रह्यो,’ उनले भने, ‘उहाँको इच्छाविपरीत विदेश लगिएन।’

 

बिरामी भएर सिकिस्त भएपछि पोखरेल प्रदेशसभा बैठक पनि उपस्थित हुन सकेका थिएनन्।बीचमा एकपटक हाउस जानुभएको थियो,’ उनले भने, ‘उहाँले सांसदहरूलाई मलाई ठीक हुँदै छ पनि भन्नुभयो तर अपेक्षा गरे अनुसार निको भएन।’

शर्मा प्रदेश ५ मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता हुन् ।  समानुपातिक सांसद रहेका उनी सर्वसम्मत दलको नेता चयन भएका थिए। उनी प्रदेश ५ का जेष्ठ सांसद हुन्।जेष्ठ सदस्य भएकोले सभामुखकै हैसियतले उनले सांसदलाई सपथ पनि खुवाएका थिए।

प्रदेश सरकारले समिति सभापतिहरू, प्रतिपक्षी दलका नेतालाई पनि गाडी उपलब्ध गराएको थियो। गाडी खरिदमा अनियमितता भएको आलोचनापछि गाडी फिर्ता गरेर उनी संसद भवनबाट रिक्सा चढेर घर गएका थिए। बिरामी भएका पोखरेललाई प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले अस्पताल नै पुगेर भेटेका थिए। उनले उपचार खर्च प्रदेश सरकारले तिर्ने पनि बताएका छन्। यसअघि प्रदेश सरकारले पोखरेलको उपचारका लागि पाँच लाख रुपैयाँ खर्च पनि उपलब्ध गराइसकेको छ।२०१३ सालदेखि कांग्रेस राजनीति सुरू गरेका पोखरेल पार्टीमा पनि क्रियाशील नै थिए।

सम्बन्धित् समाचार