गृहपृष्ठ Featured राजधानी हेटौँडा र नाम वाग्मती राख्ने नेकपाको निर्णय

राजधानी हेटौँडा र नाम वाग्मती राख्ने नेकपाको निर्णय

प्रकाशित मिति:

हेटौँडा । प्रदेश ३ को नेकपा संसदीय दलले प्रदेश नं ३ को नाम ‘वाग्मती’ र स्थायी राजधानी हेटौँडालाई नै एकमतले पास गराउने निर्णय गरेको छ । पार्टी सचिवालयको निर्णयलाई नै एक भएर पास गराउने निर्णय भएको नेकपा प्रदेश नं ३ का इन्चार्ज अष्टलक्ष्मी शाक्यले जानकारी दिइन्।

उनले विगतमा प्रदेशसभा सदस्यहरुले आ–आफ्नो हिसाबले मन्तव्य र विचार व्यक्त गरेको भए पनि एक भएर राजधानी र नामकरण टुङ्ग्याउने सहमति भएको बताइन्। दलको निर्णयअनुसार नै मतदान हुने हुँदा ‘ह्वीप’ वा दण्डको डर वा त्रास देखाउने अवस्था नरहेको उनले बताइन्।

मुख्यमन्त्री डोरमणि पौडेलले संसद्मा एउटा मात्र प्रस्ताव लैजाने सहमति भएको जानकारी दिए । ‘‘दलको बैठकमा प्रदेशसभा सदस्यको  धारणा सुनेपछि संसद्मा राजधानी हेटौँडा र नाम वाग्मती मात्र प्रस्ताव पेश गर्ने निर्णय सर्वसम्मत भएको छ’’, मुख्यमन्त्री पौडेलले भने ।

यसअघि प्रदेश ३ को राजधानी हेटौडा राख्न नेकपा सचिवालयले निर्देशन दिएको थियो । उक्त निर्देशनप्रति नेकपाकै सांसदहरुले असन्तुष्टि जनाएका थिए । नेकपा प्रदेश ३ की संयोजक अष्टलक्ष्मी शाक्यले केन्द्रले गरेको निर्णय प्रकृया नमिलेको भन्दै दलको बैठकमा व्यापक छलफल गरेर सहमति निकालिएको बताइन् ।

विकासलाई विस्तार गर्नुपर्छ भन्ने अवधारणाका साथ र दीर्घकालीन सोचका साथ हेटौँडालाई नै राजधानी र नाम वाग्मती राख्ने निर्णय भएको नेकपा प्रदेश नं ३ का अध्यक्ष नारायण दाहालले जानकारी दिए । हेटौँडालाई राजधानी बनाउँदा समृद्ध नेपाल बनाउने अभियानमा धेरै हिसाबले बल पुग्ने र थुप्रै रणनीतिक कारण पनि हेटौँडा उपयुक्त हुने उनको भनाइ थियो ।

सम्बन्धित् समाचार