गृहपृष्ठ खबर कपिलवस्तुमा नदीजन्य पदार्थमा लुटतन्त्र । नगर प्रमुख भन्छन “म बोल्दिन, मन लागेको लेख्नुस”

कपिलवस्तुमा नदीजन्य पदार्थमा लुटतन्त्र । नगर प्रमुख भन्छन “म बोल्दिन, मन लागेको लेख्नुस”

प्रकाशित मिति:

अनुगमनको जिम्मेबारी बोकेको कपिलवस्तु नगरपालिकाको असावधानीका कारण नदीजन्य पदार्थको निकासी अनियन्त्रित बनेको छ । ठेक्का सम्झौतामा खोलाबाट नदीजन्य पदार्थ निकाल्दा नदीजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनले अनिवार्य भ्याट रकम उल्लेख गरिएको रसिद लिनु पर्ने व्यवस्था भए पनि कपिलवस्तु नगरपालिकाले अकबरपुर नाकामा लगाएको ठेक्कामा कागजको चिर्कटोमा हिसाब लेखेर बालुवा बोक्ने गरेको भेटिएको छ ।

रुपन्देहीको श्री मुक्ति कन्ट्रक्सन प्रा.लिले ठेक्का सम्झौताका कबुलियतनामाको तेस्रो सर्तमा नगरपालिकाबाट प्रमाणीत गरिए बाहेकका रसिदहरु प्रयोग गरि आय संकलन गर्न नपाउने स्पष्ट छ । तर सम्झौता बिपरित रसिदको ठाँउमा सम्बन्धित ठेक्का सकारेको फर्मले चिर्कटो प्रयोग गर्दा समेत नियमनको जिम्मेबारी पाएको कपिलवस्तु नगरपालिका बेखबर बनेको छ । अकबरपुर नाकामा अनियन्त्रित रुपमा नदीजन्य पदार्थ निकासी हुदै आएको सुचनाको आधारमा सो नाकामा पुग्दा भ्याकु लोडर (जेसिबी) को प्रयोग गरि टयाक्टरहरुमा बालुवा लोड गरेको भेटिएको थियो । अकबरपुरको खोला पारी बालुवा लोड गरेर वारी आउदै गरेका लु ३ त ६३५८ नम्बरका टयाक्टरका चालक लाल मोहम्मदले प्रति ट्रिप ६ सय ५० रुपैया लिईए पनि रसिद नदिई कागजको चिकर्टो दिईने गरेको बताए । उनी जस्तै सोहि नाका हुदै श्री मुक्ति कन्ट्रक्सन प्रा.लिले प्लटिङ्ग गरि बालुवा थुपार्दै आएको कपिलवस्तु नगरपालिका ५ गोटिहवामा बालुवा पुर्याउदै गर्दा सौराहा गाँउमा भेटिएका लु ३ त ५०८१ नम्बरको टयाक्टरका चालक बलीराम पासीले आफुलाई प्लट सम्म बालुवा लैजादा रसिद नभई कापीको पानामा लेखेर दिने गरेको बताए । उनले देखाएको कागजमा उनले त्यहि दिन ५ ट्रिप बालुवा बोकेको उल्लेख थियो ।


कपिलवस्तु नगरपालिकाले आव्हान गरेको ठेक्का अनुरुप २०७६ मंसिर १८ गते गोबिन्द पाण्डेय प्रोपराईटर रहेको रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १६ को श्री मुक्ति कन्ट्रक्सन प्रा.लि.ले कपिलवस्तु नगरपालिका वडा नम्बर १२ अकबरपुरबाट नदीजन्य पदार्थ निकाल्ने ठेक्का पाएको थियो । मुक्ति कन्ट्रक्सन प्रा.लि.ले २०७७ जेठ मसान्त सम्मका लागी २३ हजार ७ सय ६० धनमिटर नदीजन्य पदार्थ उत्खननका लागी ७३ लाख १९ हजार ८ सय ८८ रुपैयामा ठेक्का लगाएको छ । ठेक्का सकारेको सो कन्ट्रक्सन प्रा.लि. लाई कपिलवस्तु नगरपालिकाले २०७६ पौष ४ गतेको चलानी नम्बर १२७९ को पत्रानुसार नदीजन्य पदार्थ निकासीका लागी भ्याकु लोडर प्रयोगको अनुमती दिएको छ ।

भ्याकु लोडर प्रयोगको अनुमतीमा प्रयोग गर्ने दिन खुलाईएको छैन । कपिलवस्तु नगरपालिकाले स्विकृती दिए पनि आईईई (प्रारम्भिक बातावरणीय परिक्षण) नगरिएको स्थानबाट बालुवा झिक्ने गरेको स्थानिय बताउछन । “अकबरपुर गाँउमा बाणगंगाको बर्षाको भेल नपसोस भनेर गाँउको पश्चिम तर्फको ढिस्कोमा जेबिसी प्रयोग गर्न दिने भनिएको थियो । तर अहिले जताततै जेसिबी प्रयोग गरिएको छ ।” अकबरपुरका स्थानिय मनोज प्रसाद हरिजनले भने ।

आईईई गर्ने क्रममा अकबरपुर गाँउ बचाउन खोला पश्चिमको ढिस्कोलाई जेसिबी प्रयोग गरेर एक महिना सम्म निकाल्न दिने सल्लाह भएको कपिलवस्तु नगरपालिका वडा नम्बर १२ का अध्यक्ष ओम प्रकाश पाण्डेयले बताए । “जेसिबी प्रयोग गरेर ढिस्को मात्रै निकाल्न दिने भने पनि अरु क्षेत्रमा जेसिबी प्रयोग गरिएको गुनासो आएको छ ।” वडा अध्यक्ष पाण्डेयले स्पष्ट पारे ।

अकबरपुृर नाकामा प्रयोग गरिएको लु १ क २४२२ नम्बरको जेसीबिका अपरेटर थानेश्वर कुवरले बाटो बनाउने प्रयोजनका लागी आईईई (प्रारम्भिक बातावरणीय परिक्षण) नगरिएको स्थानमा जेबिस चलाएको बताए । टयाक्टरमा लोड गरिएको बालुवा बिना रसिद चिर्कटोमा लेखेर निकासी भएको भने उनले स्विकार गरे ।

श्री मुक्ति कन्ट्रक्सन प्रा.लिको प्लटिङ्गस्थल रहेको कपिलवस्तु नगरपालिका ५ गोटिहवामा भेटिएका प्रालिका साईड ईन्चार्ज प्रेम कार्कीले रसिद सकिएका कारण तत्काल काजजमा लेखिएको भए पनि सबैको एकमुष्ट रुपमा हिसाब गरि बिल काटिने बताए । श्री मुक्ति कन्ट्रक्सन प्रा.लिका सञ्चालक गोबिन्द पाण्डेले साईटमा खटिएका कर्मचारी सँग सम्पर्क हुन नसकेको बताउदै प्राबिधिक कारणले रसिद बिना माल ढुवानी भएको हुन सक्ने बताए ।

कपिलवस्तु नगरपालिकाले २०७६ मंसिर १५ गते प्रमाणिकरण गरी लागु गरेको नदीजन्य पदार्थ तथा अन्य पदार्थ उत्खनन, संकलन, ओसारपसार तथा बिक्री बितरण र नदीजन्य पदार्थका आधारित उद्योग व्यवस्थापन सम्बन्धि कार्यबिधी २०७६ को परिच्छेद ६ को अनुगमन मूल्याङ्कन सम्बन्धि व्यवस्थाको दफा १७ मा संघिय सरकारद्धारा गठित जिल्ला अनुगमन तथा समन्वय समिती तथा सोहि परिच्छेदको दफा १८ मा नगर प्रमुखको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय, वन, नेपाल प्रहरी÷शसस्त्र प्रहरी, सम्बन्धित वडा अध्यक्ष र पुर्वाधार शाखा प्रमुख सदस्य सचिव रहने ७ सदस्यिय स्थानिय अनुगमन समितीको व्यवस्था छ ।

नदीजन्य पदार्थको प्रदेश कार्यबिधी बिपरित नगरपालिकाले पास गरेको कार्यबिधीले समेत नगर भित्रको ठेक्काको अनुगमनको जिम्मेबारी नगर प्रमुखको नेतृत्वको समितीलाई नै तोकेको छ । सो बिषयमा बुझन खोज्दा कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिमलराज आचार्यले नदीजन्य पदार्थका समस्या समाधान गर्न पहल गरे पनि सो बिषयय बारे नगर प्रमुख सँगै जानकारी लिन आग्रह गरे । सो बिषयमा प्रतिक्रिया लिन खोज्दा नगर प्रमुख किरण सिंहले आफुले सञ्चार माध्यम संग सो नाकाको अनुगमन नगरी केहि नबोल्ने बताए । “पत्रकारले मन लागेको लेखे हुन्छ । खोलाको अनुगमन नगरी केहि प्रतिक्रिया दिन्न । मन लागेको छाप्दा हुन्छ ।” उनले आक्रोशपुर्ण शैलीमा भने ।

प्रदेश ५ सरकारले जारी गरेको नदीजन्य पदार्थ व्यवस्थापन कार्यबिधी २०७५ बिपरित कपिलवस्तु नगरपालिकाले जारी गरेको नदीजन्य पदार्थ तथा अन्य पदार्थ उत्खनन, संकलन, ओसारपसार तथा बिक्री बितरण र नदीजन्य पदार्थका आधारित उद्योग व्यवस्थापन सम्बन्धि कार्यबिधी २०७६ मा नगरपालिका आफैले ठेक्का लगाउने र आफैले अनुगमन गर्ने भनि गरिएको व्यवस्था आफैमा बिरोधाभासपुर्ण रहेको सरोकारवाला बताउछन ।

“प्रदेश सरकारको कार्यबिधीलाई बाईपास गरेर बनाएको नगरको कार्यबिधीमा भएको व्यवस्थाले स्वच्छ अनुगमन हुनु भन्दा पनि प्राकृतिक श्रोत साधन माथीको दोहनलाई प्रोत्साहित गर्ने अवस्था छ । ” श्रोत भन्छ । “जनप्रतिनिधी आफै नदीजन्य पदार्थको ठेक्कामा लगानीकर्ता छन । अनि कस्ले कस्लाई कारवाही गर्छ ? ” एक निर्माण व्यवसायीले प्रश्न गरे । नदीजन्य पदार्थको दोहन बारे जानकारी लिदा जिल्ला समन्वय समिती कपिलवस्तुका निमित्त जिल्ला समन्वय अधिकारी भुमीराम पोख्रेलले कपिलवस्तु नगरपालिका सहितका केहि पालिकाले प्रदेश कानुन बिपरित नदीजन्य पदार्थको ठेक्का लगाएको बताए ।

सम्बन्धित् समाचार