गृहपृष्ठ खबर कछुवाको गतिमा रेल

कछुवाको गतिमा रेल

प्रकाशित मिति:

वि.सं २०७४ को आम निर्वाचनमा तत्कालिन एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले लगाएको नारा थियो, रेल । चुनाव जिताएर पार्टीलाई सत्ता हाँक्न दिए देशलाई छिमेकी भारत र चीनसँग रेलमार्गले जोड्ने प्रतिबद्धता उनीहरुले जनतामाझ गरेका थिए । केरुङ–काठमाडौं र पूर्व पश्चिम रेलमार्ग अझ धेरै प्राथमिकतामा थिए । त्यसपछि स्थानीय तहको निर्वाचमा काठमाडौंमा मोनोरेल र मेट्रोरेल गुडाउने नारा पनि तत्कालिन एमाले सारेको थियो । निर्वाचनपछि नेकपाले सत्ता सम्हालेको दुई वर्ष बित्न लाग्दा पनि रेलको प्रगति भने कुछुवाको गतिमा छ ।

०७२ को नाकाबन्दीपछि भारतसँगको एकपक्षीय निर्भरता तोड्न नेपालले नेपाल–चीन सीमापार बहुआयामिक अन्तरआबद्धता सञ्जालअन्तर्गत केरुङ–काठमाडौं रेलमार्गको योजना अगाडि बढाएको नयाँ पत्रिकाको समाचारमा उल्लेख छ । अहिले पनि त्यो रेलमार्ग नै नेपालको पहिलो प्राथमिकतामा छ । चिनीयाँ पक्षले आयोजनाको पूर्वसम्भाव्यता अध्ययन गरेर नेपाललाई बुझाईसकेको छ । विस्तृत सम्भाव्यता अध्ययन(डीपीएस) गर्ने निर्णयसहितको कामको बाँडफाँडको निर्णय पनि भइसकेको छ । चिनियाँले डीपीएसलाई विस्तृत आयोजना प्रतिवेदन(डीपीआर)को मान्यता दिन्छन् । २५–२५ आसोजमा चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणका क्रममा सम्भाव्यता अध्ययन गर्ने सहमति भएअनुरुप दुई देशबीच कामको बाँडफाँड भएको हो ।

दुई पक्षीय सहमतिअनुसार सबै प्राविधिक कामको अध्ययन चीनले गर्ने र लागत पनि उसैले व्यहोर्ने उल्लेख छ । डीपीएस प्रतिवेदन तयार गर्न ३ अर्ब रुपैयाँ लाग्नेछ । नेपालले स्थानीयसँग सम्बन्धित मुआब्जा, वस्ती व्यवस्थापन लगायत जिम्मेवारी व्यहोर्नुपर्नेछ । आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण(आईईई) र वातारणीय प्रभाव मूल्यांकन(ईआईए) पनि नेपालले नै गर्नुपर्नेछ । त्यस्तै अध्ययन क्षेत्रमा सुरक्षा उपलब्ध, आवास व्यवस्थापन र फिल्ड संरचना निर्माणलगायत दायित्व नेपालकै हुनेछ । डिपिएस दुई वर्षभित्र सक्ने लक्ष्य छ । तर, तत्काल काम सुरु गर्दा पनि रेलमार्ग तयार हुन काम्तिमा आठ वर्ष लाग्ने रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए ।

यता रक्सौल–काठमाडौंको प्रारम्भिक इन्जिनियरिङ सकियो, डीपीआरको तयारी छैन । काठमाडौंको मेट्रोरेल प्रारम्भिक रुटको अध्ययन हुँदै छ । नाकढुंगा–धुलिखेल रेलमार्गको परामर्शदाता नै छनोट भएको छैन । काठमाडौं–कुरिनटार र कुरिनटार–लुम्बिनी रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन सकियो, विस्तृत सम्भाव्यताको सुरसार छैन । त्यस्तै पूर्व पश्चिम विद्युतीय रेलमार्ग ७ खण्डमध्ये ६ खण्डको डीपीआर तयार भएको छ । नेपाल भारत जोड्ने पाँच रेलमार्ग अधुरै रहेका छन् । तर, चैतभित्र कुर्था–जनकपुर–जयनगर रेल सञ्चालन हुने रेल विभागले जनाएको छ ।यो खबर आजको नयाँ पत्रीका दैनिकमा रहेको छ

सम्बन्धित् समाचार