सरकारले कोरोना त्रासका कारण कुनै पनि दैनिक उपभोग्य वस्तुको अभाव नभएको स्पष्ट पार्दै कालोबजारी गरिएको पाइए विद्यमान कानूनअनुसार हदैसम्मको कारवाही गर्ने चेतावनी दिएको छ । आपूर्ति व्यवस्थालाई नियमित राख्न युद्धस्तरमा काम गरिरहेको भन्दै सरकारले त्रासको समयमा कमाउने मौका यही हो भन्दै कालोबजारी गरिए, परल मूल्यभन्दा बढी लिए, सामान भएर पनि छैन भन्दै लुकाए कालोबजारी कानून तथा अत्यावश्यक ऐनले गरेको व्यवस्थाअनुसार कारवाही हुने चेतावनी दिएको हो ।
मास्क, स्यानेटाइजरजस्ता सामग्रीमा मात्रै दबाब परेको स्पष्ट पार्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले भन्नुभयो, “खाद्य पदार्थ, खाना पकाउने ग्यास, नुन, दलहन, खाने तेल आपूर्तिमा कुनै समस्या छैन । कहीँ कतै पनि आत्तिइहाल्नुपर्ने अवस्था छैन ।” व्यापारीले रु २० मा पाइने आयोडिनयुक्त नुनको रु ४० सम्म बिक्री गरेको, खाना पकाउने एलपी ग्यास लिन लामा लामा लाइन लागेको, मास्क तथा अन्य खाद्यउपजमा समेत कालोबजारी भएको चर्को गुनासो आएपछि आज पत्रकारसँगको भेटमा मन्त्री भट्टले केही सामानमा दबाब परे पनि सङ्कटको अवस्था नभएको बताउनुभयो ।
कालोबजारी भए ११३७ मा फोन गर्नुस्
मन्त्री भट्टले आपूर्ति तथा अन्य कुनै समस्या आए ११३७ नम्बरमा फोन गर्न आग्रह गर्नुभयो । पैसा नलाग्ने सो नम्बरमा फोन गरेर आफ्ना समस्या तथा गुनासो राख्न सकिनेछ । कालोबजारी भए, परल मूल्यभन्दा बढी मूल्यमा कुनै सामान बिक्री वितरण गरेको पाइए सो नम्बरमा गुनासो गर्न सकिने मन्त्री भट्टको भनाइ छ । उहाँले केही दिनभित्रैमा साल्ट ट्रेडिङलगायतका स्थानमा पनि हटलाइन सेवाको शुरुआत गरिने जानकारी दिनुभयो । सबै प्रकारका उपभोग्य सामग्रीको अभाव नभएको तर बजारमा केही व्यापारीले अनावश्यकरूपमा नकारात्मक हौवा फैलाएको बताउनुभयो ।
हाल साल्ट ट्रेडिङसँग आगामी दशैँसम्म पुग्ने गरी नुन स्टकमा छ । “तर नुन सकिए जसरी प्रचार भयो, यसलाई चिर्न जरुरी भयो”, मन्त्री भट्टले भन्नुभयो । यस्तै साविकको खाद्य संस्थानसँग कूल २० हजार मेट्रिक टन धान स्टक छ । उक्त परिमाणको धानबाट मात्रै १४ हजार मेट्रिक टन चामल उत्पादन हुन सक्छ । सरकारी मिलले मात्रै दैनिक एक हजार क्विन्टल बढी चामल उत्पादन गर्ने क्षमता राख्दछ । (रासस)