गृहपृष्ठ अन्तरास्ट्रिय खबर इरानविरुद्ध आक्रमण रोक्न अमेरिकी संसद्को प्रस्ताव

इरानविरुद्ध आक्रमण रोक्न अमेरिकी संसद्को प्रस्ताव

प्रकाशित मिति:

अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले इरानविरुद्ध सैनिक आक्रमण गर्ने राष्ट्रपति डोनल्ड ट्रम्पको अधिकार कटौती गर्ने प्रस्ताव बुधवार पारित गरेको छ। उक्त प्रस्तावलाई राष्ट्रपति ट्रम्पले अस्वीकार गर्न सक्ने ह्वाइट हाउसका अधिकारीले बताएका छन्।

संसद्मा भएको मतदानमा राष्ट्रपतिको अधिकार कटौतीसम्बन्धी प्रस्तावको पक्षमा २२७ र विपक्षमा १८६ मत परेको थियो। डेमोक्र्याटिक पार्टीको बहुमत रहेको तल्लो सदनमा सांसदले पार्टी लाइनअनुसार नै मतदान गरेका थिए। तल्लो सदनले पारित गरेको उक्त प्रस्तावमा कंग्रेस (संसद) को स्वीकृति नभई इरानविरुद्ध अमेरिकी सेना परिचालन गर्न नपाइने उल्लेख छ। यस्तै प्रस्ताव रिपब्लिकन पार्टीको बहुमत रहेको सिनेटले गत महिना पारित गरेको थियो।

राष्ट्रपतिले संसद्बाट पारित प्रस्तावविरुद्ध विशेषाधिकार (भिटो) प्रयोग गर्न सक्ने र राष्ट्रपतिको विशेषाधिकारलाई नकार्न संसद्मा डेमोक्रेटिक पार्टीको पर्याप्त मत छैन। इरानी सैनिक कमान्डर कासिम सुलेमानी इराकको बगदादमा अमेरिकी कारबाहीमा मारिएपछि इरान र अमेरिकाबीचको तनाव बढेको थियो।

बुधवार साँझ बगदादको उत्तरमा रहेको ताजी हवाइ शिविरमा भएको आक्रमणमा दुई अमेरिकी र एक बेलायती नागरिक मारिएपछि स्थिति झनै भयावहपूर्ण भएको छ। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र बेलायती विदेशमन्त्री डोमिनिक राबले हमलाको निन्दा गरेका छन्।

सम्बन्धित् समाचार