कोरोनाभाइरसको सन्त्रासका बीच नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला साङ्गठिक गतिविधि जारी छ । सरकार र पार्टीको निर्णय विपरीत कार्यकर्ता भेटभाट, प्रशिक्षण र सार्वजनिक कार्यक्रममा कोइरालाको व्यस्तता बढ्दो छ ।
२० फागुनमा नै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको जोखिम बढेको भन्दै धेरै मानिस भेला हुने कार्यक्रम नगर्न आह्वान गरेका थिए । जसअनुसार २१ फागुनमा काँग्रेसले पार्टी र पार्टीमा आबद्ध संस्थाहरुको सबै तहका ठूला भेला, सम्मेलन र सभा लगायतका कार्यक्रम अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको निर्णय सार्वजनिक गरेको थियो ।
तर, देउवाले पछिल्लो समय विधानविपरीत लिएका निर्णयको विरोध रोक्न कोरोना देखाएर यस्तो निर्णय लिएको संस्थापन इतर पक्षको बुझाइ छ । संस्थापन इतर पक्षधर नेता कोइराला त्यही बुझाइ अनुसार सरकार र पार्टीको निर्णयलाई बेवास्ता गर्दै विभिन्न जिल्लामा कार्यकर्ता भेला र प्रशिक्षण कार्यक्रममा दौडिरहेका पाइन्छन् ।
२४ फागुनबाट उपत्यकाबाहिर निस्किएका कोइरालाले यसबीचमा आधा दर्जनबढी सभा समारोहमा आफूलाई व्यस्त राखेका छन् । २४ फागुनमा उनी सिरहा पुगे । त्यही दिन कोइरालाले मात्रृशोकमा रहेका पूर्वमन्त्री जेपी गुप्ताको निवास सप्तरीको कञ्चनपुर पुगेर समवेदना दिन भ्याए । सोही दिन उनी गिरिजाप्रसाद (जिपी) कोइराला फाउण्डेशन सिराहाले लहानमा आयोजना गरेको कार्यक्रममा सहभागी भए । कोइरालाले त्यसको दोस्रो दिन प्रेस युनियन सिरहाद्वारा लहानमा आयोजित पत्रकार भेटघाटमा पनि जोडिए । सोही दिन उनी त्यहाँबाट धनुषा हानिए ।
उनको स्वागतका लागि धनुषको वीरेन्द्र बजारमा कार्यकर्ताको ठूलो घुइँचो थियो । उनी त्यहाँबाट धनुषमा आयोजित जीपी कोइराला फाउण्डेशनको कार्यक्रममा पुगे । जहाँ संस्थापन इतरका नेता कार्यकताको मात्र सहभागिता थियो ।
नेतृ सुजाताको अगुवाइमा जीपी कोइराला फाउण्डेशनलाई पार्टीको समानन्तर कमिटी बनाउने प्रयास भइरहेको संस्थापनको बुझाइ थियो ।
त्यसको छनक पार्टी उपसभापति विमलेन्द्र निधिको गृह जिल्ला धनुषामा गत (फागुन २५ गते) आइतबार देखियो । शेखर र सुजता अथिति भएको कार्यक्रम धनुषा जिल्ला सभापतिले समेत बहिस्कार गरिदिए ।
स्रोतका अनुसार कोइरालाले पार्टी निर्णयविपरीत कार्यक्रम गरेकाले उपसभापति निधिले आफूनिकट कार्यकर्तालाई सहभागी नहुन निर्देशन दिएका थिए । जब कि कार्यक्रममा धनुषाबाट केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने सबैलाई निमन्त्रणा गरिएको थियो ।
उपसभापति निधिसहित उनीनिकट मानिने केन्द्रीय सदस्यसहित धनुषा काँग्रेसका सभापति महेशशंकर गिरीसहितले कोइराला परिवार उपस्थित कार्यक्रम बहिस्कार गरेको थियोे । निधिलाई कार्यक्रमको निम्तो पाठए पनि उनी त्यो दिन काठमाडौँमै थिए । उपसभापति कै निर्देशनमा संस्थापन पक्षका नेता कार्यकर्ता कार्यक्रममा नआएको अयोजकको बुझाइ छ ।
पार्टी निर्णय विपरीत कार्यक्रम गरिएकोप्रति संस्थापन पक्षले असहमति जनाए पनि कोइरालाले भने कार्यकर्ता भेटघाटमा ब्रेक लगाएनन् । कोइरालाले २७ फागुनमा विराटनगरस्थित कोइराला निवासमा स्थानीय कार्यकर्तासँग होली मनाए ।
दोस्रो दिन २८ फागुनमा नेपाली काँग्रेस मोरङद्वारा विराटनगरस्थित कोइराला निवासमै आयोजित लोकतन्त्रवादी बुद्धिजिवीहरुसँगको अनौपचारिक छलफल कार्यक्रममा उनी सामेल भए ।
२९ फागुनमा पार्टी केन्द्रीय प्रशिक्षण प्रतिष्ठानका सदस्य समेत रहेका राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षद्वय गोविन्दराज पोखरेल, स्वर्णिम वाग्लेसँग पोखरातिर लागे ।
त्यहाँ उनीहरु कास्कीका बुद्धिजिवीहरुसँगको अन्तरक्रिया कार्यक्रमा सामेल भए । उक्त कार्यक्रमा नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, पूर्वमन्त्री यज्ञबहादुर थापा, प्रदेससभा सांसद प्रकाश दवाडी, ट्रेड युनियन काँग्रेसका नेता रामजी कुँवरलगायतको पनि उपस्थिति थियो ।
त्यसको भोलिपल्ट उनी पोखरेल र वाग्लेसँग गोरखातिर हानिए । गोरखामा जिल्लास्तरीय नेता, कार्यकतालाई एकदिने प्रशिक्षण दिने कार्यक्रम थियो । कोइरालाका सबै गतिविधि नियालिरहेका पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार (३० फागुन)मा उनलाई फोन घुमाए र पार्टीको निर्णय स्मरण गराए ।
‘डब्लुएचओ, सरकार र पाटीले गरेको निर्णय थाहा नपाएर कार्यक्रममा जानु भएको भए कोरोनाभाइरसबारे केही बोलेर पनि आउनुहोला,’ भनेर कोइरालाको दौडधुपप्रति संकेतिक रुपमा विमति जनाए ।
कोइरालाले पनि १ चैतमा (शनिबार) नेपाल प्रेस युनियन गोरखाद्वारा आयोजित पत्रकार भेटघाटमा कार्यक्रममा शर्माप्रति कटाक्ष गर्दै आफू स्वयम् चिकित्सक भएकोले कोरोनाको विषयमा सिकाउनु नपर्ने जवाफ फर्काएको थिए