गृहपृष्ठ खबर राष्ट्रिय प्रसारण प्रणालीमा समस्या आएपछि देशभर नै विजुली अवरुद्ध

राष्ट्रिय प्रसारण प्रणालीमा समस्या आएपछि देशभर नै विजुली अवरुद्ध

देशका विभिन्न भागमा चलेको हावाहुरी चट्याङका कारण मंगलबार राति करिब १५ मिनेट राष्ट्रिय विद्युत प्रसारण लाइनमार्फत वितरित विद्युत सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार करिब ८।४५ बजेदेखि ९ बजेसम्म देशभरको प्रशारण तथा वितरण प्रणाली अवरुद्ध भएको छ । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपमहानिर्देशक हरराज न्यापानेले देशका अधिकांश भागमा सेवा अवरुद्ध हुन पुगेको बताए ।


उनले अवरुद्ध भएको सेवा सुरु भइसकेको पनि बताए । न्यौपानेले समस्या भएका स्थानमा टोली पुगेर मर्मतको काम पनि भइरहेको जानकारी दिए । ‘केही बेर केन्द्रीय प्रणाली नै प्रणाली गयो, समस्या भएका स्थानमा हाम्रो मर्मतको टोली परिचालित छ,’ उनले भने ,’भारप्रेषण केन्द्रले आवश्यक प्राविधिक काम गरिरहेको छ ।’

 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार पुरा देशभरको सिस्टममा विद्युत सेवा सुचारु गर्न भने अझै आधा घण्टा देखि ४५ मिनेट लाग्नेछ । ‘पुरै सिस्टम कोल्याप्स भएपछि सबै आयोजनाहरु पनि बन्द हुन्छन्, अब एक(एक आयोजना चलाउँदै सो क्षेत्रका सिस्टम रिकभर गर्नुपर्छ,’ उनले भने,’चट्याङ तथा हावाहुरीका कारण कुनै आयोजना सटडाउन भएपछि माग र आपूर्तिको सन्तुलन नमिल्दा यस्तो सिस्टम जाने हुन्छ ।’

सम्बन्धित् समाचार