नयाँ वर्षको दिन बैशाख १ गते पेट असह्य दुखेपछि ३३ वर्षीया भीमा पाण्डे बिहान ८ बजे बाग्लुङ, ढोरपाटन नगरपालिकाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र पुगिन्। उनका साथमा मलेसियाबाट फागुन १७ गते नेपाल आएका श्रीमान् र आफन्त थिए। भीमाको पेटमा डेढ महिनाको बच्चा थियो। स्वास्थ्य केन्द्र पुग्दा उनलाई रक्तश्राव भइरहेको थियो। प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले उनको चेकजाँच गर्यो, ३ वटा सलाइन पानी र दुखाइ कम गर्ने औषधि दियो।

गर्भवती भएपछि यसअघि चैत २८ गते पनि उनी प्राथमिक स्वास्थ्य केन्द्र पुगेकी थिइन्। त्यतिबेला भिडिओ एक्सरे गर्दा उनको पाठेघरमा बच्चा बसेको देखिएन। तर पिसाब जाँच्दा गर्भवती भएको देखाएको थियो। त्यतिबेला प्राथमिक स्वास्थ्य केन्द्रले पाठेघर बाहिर नलीमा बच्चा बसेको भन्दै तुरून्त सुविधा सम्पन्न ठूलो अस्पतालमा जान रिफर गर्यो। स्वास्थ्य केन्द्रकी नर्स पार्वती अर्यालले भनिन्, ‘तर उहाँ जानुभएनछ।’
अर्यालका अनुसार पाठेघरभन्दा बाहिर नलीमा बच्चा बस्यो भने नलीले ६ देखि ८ हप्तामात्र धान्छ। त्यसपछि नली फुट्छ। वैशाख १ गते उनी फेरि प्राथमिक स्वास्थ्य केन्द्र पुग्दा भीमाको बच्चा बसेको नली फुटिसकेको थियो। पेटमा रगत देखिएको थियो। प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार गरेर तत्काल अस्पताल लैजान एम्बुलेन्स बोलाइयो।
एम्बुलेन्समा बसेर करिब १० मिनेटको बाटोमा अर्को स्वास्थ्य केन्द्र थियो।
त्यहाँ भीमाको ‘ब्लड प्रेसर’ नापियो। त्यहाँसम्म बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर मिलन मल्ल र नर्स पार्वती पनि गएका थिए। बुर्तिबाङमा जाँच्दा भन्दा ब्लड प्रेसर निकै कम भएपछि एम्बुलेन्समा पठाएर नहुने उनीहरूले निष्कर्ष निकाले।
डा। मल्लले गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य विभाग र निर्देशनालयमा फोन गरे। गर्भवतीलाई उद्धार गर्न प्रदेशले गत वर्षदेखि नै ‘आमा सुरक्षा कार्यक्रम’ अन्तर्गत हेलिकप्टरमा उद्धार गर्ने कार्यक्रम राखेको थियो।
‘यसअघि हामीले फोन गर्नेबित्तिकै हेलिकप्टर आउँथ्यो, यसपालि आएन,’ डाक्टर मल्लले सेतोपाटीलाई भने, ‘लकडाउनका कारण हेलिकप्टर उडाउन गृह मन्त्रालयको स्वीकृति लिनुपर्ने भयो।’
सँगै रहेका प्रहरी अधिकारी र डाक्टरको टिमले जिल्ला प्रशासन कार्यालय बाग्लुङमा फोन गरे।
प्रशासनले ‘गर्भवती महिलाको उपचार गर्न आकस्मिक हेलिकप्टर उडाउन पाउँ’ भनेर गृह मन्त्रालयमा पत्राचार गर्यो।
बिहान ८ बजे बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र आइपुगेकी भीमालाई एम्बुलेन्समा राखेर केही अगाडि पठाएर अर्को स्वास्थ्य केन्द्रमा राखिएको थियो। हेलिकप्टर मगाउँदा बिहानको सवा ९ बजेको डाक्टर मल्लले बताए।
गृह मन्त्रालयले पत्रको उत्तर समयमा दिएन। पोखरामा हेलिकप्टर र पाइलट उडान अनुमति पर्खेर बसिरहेका थिए। बिरामी गर्भवतीको छटपटाहट र बाग्लुङ प्रशासनको ताकेतापश्चात गृह मन्त्रालयबाट हेलिकप्टर उडाउने अनुमति तीन घन्टा ढिला गरी आयो।
१२ बजेतिर अनुमति पाएपछि पोखराबाट हेलिकप्टर उड्यो। १२ बजेर २० मिनेटमा हेलिकप्टर गर्भवती भएको ठाउँमा पुग्यो।
गर्भवतीसँगै उनका श्रीमान र भाइ पनि थिए। यतिबेलासम्म गर्भवती होसमै थिइन्। नर्स अर्यालका अनुसार उनले हेलिकप्टर आयो भनिरहेकी थिइन्। हेलिकप्टरमार्फत् उनीहरू पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ओर्लिए। अस्पतालको आकस्मिक कक्षमा लैजाँदा चिकित्सकले भीमालाई मृत घोषणा गरिदिए।
हेलिकप्टर पर्खेर ३ घन्टा समय बिताउन नपरेको भए उनको ज्यान जोगिने सम्भावना धेरै रहेको मल्लले बताए।
‘बच्चा बसेको नली फुट्नु निकै नै जटिल अवस्था हो,’ उनले भने, ‘यस्तो अवस्थामा जति ढिलाइ हुन्छ ज्यान जाने जोखिम उत्तिनै हुन्छ।’
तीन घन्टा हेलिकप्टर कुर्न नपरेको भए उनको ज्यान जोगिने सक्ने उनले बताए।
गर्भ रहेकोबारे भीमा आफैं विश्वस्त हुन नसकेका कारण पनि रिफर गरेकै बेला उनी अस्पताल नगएको नर्स अर्यालले बताइन्।
‘उहाँले गर्भ निरोधक चक्की ‘पिल्स’ खाने भनेर खोज्नुभएको रहेछ, हामीले दिएनौं,’ उनले भनिन्, ‘२८ गते रिफर गर्दा त्यतिबेलै गएको भए पक्कै ज्यान जोगिने थियो।’
लकडाउनकै कारणले पनि उनी त्यतिबेला ठूलो अस्पताल जान नसकेको उनले बताइन्।
श्रीमान् मलेसियाबाट आएपछि चैतको पहिलो साता घर बुटवलबाट भीमाको दम्पति माइत बाग्लुङको ढोरपाटन पुगेका थिए। माइत पुगेपछि लकडाउन भयो, उनीहरू बुटवल फर्कन पाएनन्। वैशाख ३ गते लकडाउन खुल्ला र बुटवल नै पुगेर उपचार गर्ने सुरमा उनीहरू रहेको नर्स अर्यालले बताइन्। तर वैशाख १ गते नै उनले ज्यान गुमाइन्।
बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख समेत मल्लले १ घन्टा छिटो भएको भए पनि भीमाको ज्यान जोगिन सक्ने बताए।
‘उनको पेट चिरेर अप्रेसन गर्न पनि समय लाग्थ्यो, समयमा अस्पताल पुर्याउन नसक्दा उनको ज्यान गयो,’ उनले भने।
डा। मल्लले स्वास्थ्यका लागि लक डाउन खुकुलो हुनुपर्ने बताए। गर्भवती, अन्य रोग र घाइतेको उपचार गर्न हेलिकप्टर उडाउन अनुमति लिनुपर्ने झन्झटिलो र ढिलो प्रक्रिया अपनाउँदा यसरी नै बिरामीको ज्यान जाने घटना दोहोरिन सक्ने उनले बताए।
‘सम्बन्धित स्वास्थ्य संस्था प्रमुखको सिफारिसमा हेलिकप्टर उडाउने अनुमति हुनुपर्छ, नभए अरू पनि यस्ता घटना भए अनुमति लिँदा नै बिरामीको ज्यान जान सक्छ,’ मल्लले भने।
यता, ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले घटनाका बारेमा आफूले गर्भवती महिलाको मृत्यु भइसकेको समाचार आएपछि मात्र थाहा पाएको बताए।
‘मैले बेलैमा थाहा पाएको भए तत्काल हेलिकप्टर मगाउँथे,’ उनले सेतोपाटीलाई भने, ‘गृह मन्त्रालयको अनुमति लिन सिधै गृहमन्त्रीलाई फोन गर्न सक्थें।’
उनले गर्भवतीको मृत्यु भएको खबर पाएपछि तत्काल पोखराबाट निशुल्क एम्बुलेन्सको व्यवस्था गरेर गर्भवतीको शव बुर्तिबाङ लगेको बताए।








