गृहपृष्ठ राजनीति  प्रमुख प्रतिपक्षले भन्यो  : र्‍यापिड टेस्ट विश्‍वासनीय भएन, यसलाई रोकेर पीसीआर परीक्षणलाई तीव्र बनाउन

 प्रमुख प्रतिपक्षले भन्यो  : र्‍यापिड टेस्ट विश्‍वासनीय भएन, यसलाई रोकेर पीसीआर परीक्षणलाई तीव्र बनाउन

प्रकाशित मिति:

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र्‍यापिड टेस्टको विश्‍वासनीयतमा प्रश्‍न उठाउँदै रोक्न माग गरेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आयोजनामा पार्टी पदाधिकारी, पूर्वस्वास्थ मन्त्रीहरु एवं स्वास्थ्य क्षेत्रका विज्ञबीच भएको बैठकपछि यस्तो माग गरिएको हो। कांग्रेसले र्‍यापिडलाई रोकेर पीसीआर परीक्षणलाई तीव्र बनाउन जोड दिएको छ। ‘परीक्षण समुदायस्तरसम्म पुर्‍याउनुपर्ने अनिवार्य आवश्यकता छ’, कांग्रेसले भनेको छ, ‘तर र्‍यापिड टेस्टको विश्‍वासनीयतामा विश्‍वब्यापी प्रश्‍न उठिरहेको बेला त्यसलाई निरन्तरता दिने कार्य रोकिनु पर्छ। पीसीआरकै क्षमता र दायरा बढाइनु पर्दछ।’ कांग्रेसले अझै पनि स्वास्थकर्मीलाई पर्याप्त पिपीई लगायतका सामग्री नपुगेको जनाएको छ।

‘यतिको समय ब्यतित हुँदा पनि अझै स्वास्थ्य सामग्रीहरु पर्याप्त नहुँदा स्वास्थकर्मीहरु जोखिमपूर्ण ढंगले काम गरिरहेका छन्’, कांग्रेसले भनेको छ, ‘तत्काल गुणस्तरीय सामग्री पुर्‍याएर सरकारले कोरोनाविरुद्धको संघर्षलाई प्रभावकारी तुल्याउन जरुरी छ।’ बैठकपछि कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार अन्य रोगका बिरामीको उपचारमा भइरहेको कठिनाइ अन्त्य गर्न पनि माग गरिएको छ। ‘सरकारले यसका लागि आवश्यक प्रबन्ध मिलाउनु पर्दछ’, कांग्रेसले भनेको छ, ‘उपचार कठिनाइसँगै अत्यावश्यक औषधिहरुको अभाव हुँदै जाँदा त्यसले नयाँ जोखिम उत्पन्‍न गर्नेछ।

औषधि उत्पादन र आयातमा समयमै सचेत रहन जरुरी छ।’ कांग्रेसले कयौं ठाउँका क्‍वारेन्टाइन निश्‍चित मापदण्ड अनुरुपको नभएको र त्यसो हुँदा एकातर्फ कोरोनाकै थप जोखिम बढ्ने देखिएको जनाएको छ। ‘क्‍वारेन्टाइन व्यवस्थित नहुँदा डेङ्गो, मलेरिया र अन्य रोगको संक्रमण समेत भएको विवरण आएका छन्’, कांग्रेसले भनेको छ, ‘अत: विभिन्‍न ठाउँमा रहेका क्‍वारेन्टाइनहरुको उचित ब्यवस्थापन जरुरी छ।’

सम्बन्धित् समाचार