गृहपृष्ठ राजनीति सर्वेन्द्र र महेशविरुद्ध जाहेरी दिन सरकारी वकिलको कार्यालय पुगे जसपाका नेताहरु

सर्वेन्द्र र महेशविरुद्ध जाहेरी दिन सरकारी वकिलको कार्यालय पुगे जसपाका नेताहरु

प्रकाशित मिति:

काठमाडौं, बैशाख १६ । आफ्नो पार्टीको सांसद अपहरण गरिएको भन्दै जाहेरी दिन नवगठित जनता समाजवादी पार्टी (जसपा) का नेताहरु काठमाडौंस्थित जिल्ला सरकारी वकिलको कार्यालय पुगेका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले आफ्ना सांसद सुरेन्द्र यादवको अपहरण गरेको भन्दै त्यसविरुद्ध जाहेरी दर्ता गर्न उनीहरु बबरमहलस्थित कार्यालय पुगेका हुन् ।

पूर्वराज्यमन्त्री डा. सुरेन्द्र यादवसँगै उजुरी दिन बबरमहल पुग्नेमा पार्टी नेता उपेन्द्र यादव, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठलगायतका नेता छन् ।
आइतबार महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिन पुगेका उनीहरुलाई प्रहरीले महोत्तरीको घटना भएको भन्दै दर्ता नगरी फिर्ता पठाइदिएको थियो ।

बस्नेत, श्रेष्ठ र खनाललेसमाजवादी पार्टीका सांसद डा. यादवलाई १० वैशाखमा महोत्तरीबाट काठमाडौं ल्याएका थिए । यादवले आफूलाई जबर्जस्ती काठमाडौं ल्याएको भन्दै शरुरि बन्धक तथा अपहरणको मुद्दामा अनुसन्धान हुनुपर्ने भन्दै जाहेरी दिन खोजेका हुन् ।

समाजवादी पार्टी फुटाउने उद्देश्यका लागि बैशाखमा १० मा काठमाडौंबाट पूर्व आईजीपी खनाल, श्रेष्ठ र बस्नेत महोत्तरी पुगेर सांसद यादवलाई काठमाडौं ल्याएका थिए । प्रधानमन्त्रीकै निर्देशनमा सांसद यादवको अपहरण गरिएको आरोप जसपाका नेताहरुले लगाउँदै आएका छन् ।

सम्बन्धित् समाचार