गृहपृष्ठ खबर सत्तारुढ नेकपाभित्रको विवाद सचिवालयबाट स्थायी कमिटीमा पुग्याे

सत्तारुढ नेकपाभित्रको विवाद सचिवालयबाट स्थायी कमिटीमा पुग्याे

प्रकाशित मिति:

 

news

 

सत्तारुढ नेकपाभित्रको विवाद सचिवालयबाट स्थायी कमिटीमा पुगेको छ । शनिबार बसेको सचिवालय बैठकबाट पार्टीभित्रको अन्तरसंघर्ष अन्त्य भएको भनिएपनि पार्टीका प्रभावशाली नेता माधवकुमार नेपाल पक्षले विवादित विषयहरु स्थायी कमिटीको बैठकमा उठाउने तयारी गरेको छ ।

तर, अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षले भने सचिवालय बैठकले समाधान गरेको विषय स्थायी कमिटीमा उठेपनि अर्थ नहुने जिकिर गरेको छ ।

स्थायी कमिटी बैठक आह्वान, प्रधानमन्त्रीसहित सचिवालय सदस्यहरुको आत्मालोचना, पार्टीको सल्लाहअनुसार सरकार सञ्चालन र पद्धतिअनुसार पार्टी सञ्चालन गर्ने निर्णयपछि नेकपाभित्रको अन्तरसंघर्ष तत्कालका लागि अन्त्य भएको थियो ।

सरकारले ल्याएका दुईओटा विवादित अध्यादेशपछि चर्केको पार्टीभित्रको अन्तरसंघर्षकाबीच २० जना स्थायी कमिटी सदस्यहरुले औपचारिकरुपमा स्थायी कमिटीको बैठक माग गरेका थिए ।

उनीहरुको मागबमोजिम शनिबार बसेको सचिवालय बैठकले वैशाख २५ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय गर्दै एजेन्डा तय गर्ने जिम्मेवारी पार्टीका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ ।

सचिवालय बैठकको निर्णयप्रति आश्वस्त हुन नसकेको माधवकुमार नेपाल पक्ष स्थायी कमिटी बैठकमा एक पद एक व्यक्ति, सरकारको समीक्षा र पार्टी सञ्चालनलगायतका एजेन्डा उठाउने तयारीमा छ ।

यता, प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले भने पार्टीभित्र बदलिएको समीकरणसँगै सुरक्षित महसुस गरेको छ ।

सोमबारमात्रै ओलीले दाहालसँग छलफल गरेका छन् ।

स्थायी कमिटी बैठकमा आफूप्रतिकूलका एजेन्डा उठ्नेमा जानकार रहेको ओली पक्ष सचिवालय बैठकभन्दा फरक निर्णय नहुनेमा ढुक्क छ ।

शनिबारको सचिवालय बैठकबाट बदलिएको पार्टीभित्रको समीकरणपछि नेपाल पक्ष स्थायी समितिमा कसरी प्रस्तुत हुने भन्ने विषयमा आन्तरिक तयारीमा जुटेको छ ।

आइतबार पार्टीका प्रभावशाली नेता माधवकुमार नेपालले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र आफ्ना पक्षका स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्यहरुसँग छलफल गरेका छन् ।

आन्तरिक छलफलपछि नेपाल पक्षले स्थायी कमिटी बैठकमा आक्रामक रुपले प्रस्तुत हुने निष्कर्ष निकालेको छ ।

नेता नेपाल र अध्यक्ष दाहाल पक्षका नेताहरुको आन्तरिक तयारी हेर्दा सचिवालयले टुंगो लगाएको भनिएका विषयहरु पनि स्थायी कमिटी बैठकमा उठ्ने देखिएको छ ।

सम्बन्धित् समाचार