गृहपृष्ठ खबर दाङको घोराहीमा स्थानीयले तीव्र विरोध गरेपछि अझैसम्म क्वारेन्टाइन बन्न सकेन्

दाङको घोराहीमा स्थानीयले तीव्र विरोध गरेपछि अझैसम्म क्वारेन्टाइन बन्न सकेन्

प्रकाशित मिति:

कोरोनाको जोखिममा रहेकालाई राख्न क्वारेन्टाइन बनाउने क्रममा घोराही उपमहानगरपालिका–१४ मा स्थानीयले विरोध गरेका छन् । कल्पु धर्मशाला, बालमन्दिर, शुभप्रभात मावि लगायतका ठाउँमा क्वारेन्टाइन बनाउन खोज्दा सबैतिर विरोध भएपछि अझैसम्म क्वारेन्टाइन बन्न सकेको छैन ।

घना बस्तीको बीचमा क्वारेन्टाइन राख्न खोजेको भन्दै विरोधमा स्थानीय लाठी बोकेर सडकमा निस्कने गरेका छन् । उनीहरुले घना बस्ती नभएको ठाउँमा राख्न माग गरेका छन् । घोराही–१४ मुख्य बजार क्षेत्रमा पर्छ ।

बजारको बीचमा भयो भनेर केही व्यक्तिहरुले विरोध गरिरहेको घोराही १४ का अध्यक्ष एवं घोराही उपमहानगर विपद् व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगीले बताए । ‘गाउँतिर लगेर बनाउनुपर्‍यो भन्छन् । सबै वडामा क्वारेण्टाइन छन् । अरु ठाउँ लैजान कहाँ सम्भव हुन्छ रु,’ उनले भने,‘यहाँ सबैतिर बजार नै छ । आफ्नो वडाका मानिसहरुलाई राख्न भएका स्कुल, सार्वजनिक स्थल प्रयोग गर्न खोजेको हो । त्यसमा पनि विरोध हुन्छ ।’

केही रोजगारको सिलसिलामा बाहिरबाट आएका र केही रातदिन काम गर्ने जनप्रतिनिधि र कर्मचारीका लागि क्वारेन्टाइन बनाउन खोजिएको डाँगीले बताए । ‘अहिले यस वडाका मानिसहरु नभएका कारण पनि त्यती गाह्रो भएको छैन,’ उनले भने, ‘भोलि धेरै मानिसहरु संक्रमित हुन थाले भने सबै स्कुल र सार्वजनिक भवनहरु प्रयोग गर्नुपर्ने अवस्था आउँछ । त्यतिबेला विरोध गरेर हुनेवाला छैन ।’

अहिले दिनहुँ भारतबाट ठूलो संख्यामा मानिसहरु आइरहेका छन् । भारतबाट आएकालाई आआफ्नो वडामा लगेर क्वारेण्टाइनमा राखिएको छ । बिहिबार मात्रै भारतबाट ३ सय ५० जना मानिसहरु आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार अहिले क्वारेण्टाइनमा ५ सय ७९ जना छन् । जिल्लामा ५७ वटा क्वारेण्टाइन छन् जसमा २ हजार शय्याको क्षमता छ ।

सम्बन्धित् समाचार