नयाँ दिल्ली । विश्व नै कोरोनाभाइरसको संक्रमणसँग जुधिरहेको समयमा भारत भने अर्को चुनौतीको पनि सामना गरिरहेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार राजस्थान र मध्य प्रदेशका कयौं क्षेत्रमा बाली सखाप परेका फौजी कीरा उत्तर प्रदेश राज्यको झाँसीमा पुगेका छन् । झाँसीका जिल्ला अधिकारी आन्द्रा वामसीका अनुसार फौजी कीराको समूह राजस्थानबाट झाँसीमा प्रवेश गरिसकेको छ । नदी क्षेत्रमा बढी सक्रिय रहने गरेको फौजी कीराले तरकारी र अन्न बालीलाई बढी नोक्सान गरेको छ ।
भारतमा बर्सेनि फौजी कीराको प्रकोप हुने भए पनि यसपटक यिनको क्षेत्र विस्तार भएको अधिकारीहरुको भनाइ छ । सामान्यतया पश्चिमी राजस्थानका केही जिल्लामा सक्रिय रहने फौजी कीराको समूह यसपटक जयपुरबाट पनि अगाडि पुगिसकेको बताइएको छ ।
जयपुरको मुरलीपुरा र विद्यासागर नगर क्षेत्रमा पर्खाल, भित्ता तथा रुखमा बसेका फौजी कीरालाई भगाउन स्थानीयबासी थाल ठटाउँदै निस्किएका थिए ।
राजस्थानका कृषिमन्त्री लालचन्द कटारियाले फौजी कीरा प्रभावित क्षेत्रको भ्रमण गरेका छन् । कृषि विभागका निर्देशकका अनुसार २०० समूहले फौजी कीरामाथि निगरानी गरिरहेको छ । फौजी कीराविरुद्धको अभियानमा वारुणयन्त्र समूहलाई पनि सामेल गरिएको छ ।
राजस्थानदेखि मध्य प्रदेशसम्म किसानले लगाएका बाली तथा तरकारी खेती फौजी कीराले नष्ट गरेको छ । फौजी कीराको बाटोमा परेका मकै, उखुबाली समेत सखाप भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
कृषि वैज्ञानिकका अनुसार २५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा हावाकै दिशामा उड्ने फौजी कीराको समूहले राती बालीमा हमला गर्दछ ।