गृहपृष्ठ Featured कोरोना पछि नयाँ विचारको सुरुवात होस्-वैखरी

कोरोना पछि नयाँ विचारको सुरुवात होस्-वैखरी

प्रकाशित मिति:

 

 

आज संसारले थकाइ मारिरहेको छ । मान्छेमाथि त्रासको राज छ । जिन्दगीहरुलाई एक्लो बन्न प्रेरित गरेको छ ।मन दुखी बनेको छ ।शोक र भयको साम्राज्य फैलिएको छ ।इतिहासमा त्रसित भएको कुरामा भन्दा बर्तमानले दिएको कष्टले मानिसलाई पीडित तुल्याउने स्थिति छ।

मानिस शक्तिको पछि लाग्ने बुद्धिमान प्राणी हो ।उसले सबैतिर शक्ति फैलाएको छ । थलमा मात्र होइन जलमा पनि अकल्पनीय प्रभाव पारेको छ।आज धर्तीलाई टुक्राटुक्रामा बिभाजन गरेको छ । वनमाथि आक्रमण छ ।बन्यजन्तुमाथि प्रहार छ। शिकारीहरु मार्ने तालिम लिएर वनमा आनन्दित छन ।चराहरु मानव अत्त्याचारले ब्यथित छन् ।बिचरा ! हेपिएका बन्यजन्तु र चराहरु आफुलाई जोगाउने वासस्थानको अभावमा पलायन भएको अवस्था छ। पानीको प्राकृतिक श्रोतमाथि अक्षम्य अपराध भएको छ। खोलालाई सके पुर्ने ,नसके थुन्ने र त्यो पनि नभए मानव बिकार फाल्ने होडबाजी छ । जमीनलाई स्वार्थको खुकुरीले काटिएको छ। तेरो र मेरोको नाममा ,घरघडेरीको बहानामा र बिकास र समुन्नतिको नारामा अति नै चिमोटिएको छ , धर्तीलाई । प्रकृतिको आफ्नो गति र नियमलाई बन्दी बनाउने कार्य भएको स्थिति छ ।

बुद्धिमान् मानिसहरु फोहोर गर्न र गराउन सिपालु छन । फलफुल ,जडिबुटी र अन्नको उपयोग गरी प्राकृतिक जीवनमा रमाउनुभन्दा मांसाहारी भोजनको स्वाद जिब्रोमा गाढेर मानिस सुखी बन्न खोज्दै छ । जुनसुकै जनावर /प्राणीको मासु मानिसलाई चल्ने भएको छ ।मानवीय चाहना भौतिक सुख प्राप्तिमा घुमेको छ । पुर्खाहरुले लामो अनुभवबाट सिकेका राम्रा कुराहरुप्रति हामी अन्धबिश्वासको झटाराे हान्न सिपालु छौं । हामी बिकासको नाममा कृतिमताको दासी बनेका छौं ।

हामी सुख खोज्ने नाममा परनिर्भर बनेका छौं । हाम्रा खेतीयोग्य जमीन श्रम पोख्ने मानिसको अभावमा बाँझिएको छ । बिदेशीको इशारामा स्वाभिमान बन्दकी राखेर तल्लोस्तरको काम गर्नका निम्ति आनन्दित भइरहेका छौं । आगन लिप्ने हात सहरको कोठामै बसेर आराम गर्न मन पराउछ। गाई पालन ,बाख्रा पालन र कुखुरा पालन गर्ने कर्मठ पाखुरीले बिदेशमा काम गरेर देशलाई गरीब बनाइरहेका छौं ।। गरीबीसगको लडाइँ निरन्तर छ तर समाधान भएको छैन । भोकलाई भकारी भरेर तर्साउने समय एकादेशको कथा भएको छ ।आत्मनिर्भर हुने कुनै मार्ग खोजिएको छैन ।रहर बोकेर सहरमा बस्ने प्रवृत्तिले हाम्रा प्राकृतिक बगैचारुपी खेतबारी शृङ्गार लुटिएको मुहारझै बनेको अवस्था छ । धर्मबादलाई पाप कर्मले जितेको अबस्था छ ।चौतारो एक्लिएको अवस्था छ । सिम खेत ,फुस्रो माटाेको डिल अनि कालिकास्थानको मन्दिर वरिपरि रमाउने मनको अभाव छ ।

सबै फसल दिने पबित्र माटाे मात्र होइन हाम्रा जात्रा ,पर्व ,सस्कृति र धार्मिक मूल्यमान्यता पनि सुख्खा बगरतुल्य बनेका छन् ।गर्न सक्ने युवाले होइन ,नसक्नेहरुको जमातले हाम्रो समाज निर्मित छ ।युवा बिदेशको तातो वालुवामाथि कर्मको पसिना बगाउन बाध्य छ ।अनुभुतिको सागरमा बर्तमानको कमजोर डुङ्गा चढेर अश्रुपुरित नयनले नातिनातिना हेर्ने बृद्धअबस्थाले हाम्रो वर्तमान समाज घायल छ ।धमिलो दृश्य आँखामा  राखेर साँझमा सन्ततिसंग  कुरा गर्दै आसुको धारा बगाएर तमाखुको भरमा रात कटाउन विवश अस्ताउने घामतुल्य जनमनले समाजको गति कायम गर्न बाध्य छ ।

आज भोलि ढिकी ,जातो र पानी घट्ट चल्दैनन ।पर्म र मेलाको क्रम बन्दैनन ।बिहानीको नित्य पुजा र शङ्ख घन्टसहितको साझ्तको आरति हुदैनन् । वर र पीपल रोपेर चौतारो बनाउने क्रम रोकिएको छ ।कुवा ,पौवा र उकालोमा बिश्राम लिने यात्री प्रतीक्षालयको निर्माण त हरायो ,भएका पनि नासिएर जान थाले ।काफल र चुत्रोको बिरुवाको अस्तित्व नामेट हुने अबस्था छ ।भएकोमा टिप्ने छैनन्् र नभएकोमा रोप्ने पनि छैनन् । बिकासका नाममा प्रकृतिमाथि अन्याय थोपर्ने कार्य भएको छ । जान्ने भएर रुख काट्छौ तर रोप्न जान्दैनौ ।बिदेशबाट पैसा आउने नाममा आफ्नो पुर्खाले सिर्जेको प्राणतुल्य माटाेलाई बिर्सेर बसेका छौं ।हामी धनी छौं तर भएको जस्तो गरिरहेका छैनौ ।

हामी अरुको भाषा ,रीतिरिवाज र प्रचलनलाई सभ्य मान्छौं ।आफ्नो छोड्न पाउँदा खुसी हुन्छौं ।आयातितको दासी बनेका छौं ।प्रकृतिले शृजित गरेको ,वैदिकसूत्रले युक्त अनि नेपाली जिब्रोले बनाएको आफ्नोभाषालाई हामीले खुला मनले सम्मान गर्न सकिरहेका छैनौ ।आफुलाई बिर्सेर अरुको पछि लाग्दा नेपालीपनको संरक्षण हुँदैन तर पनि हामी परनिर्भर हुन आतुर छौं ।

समयले धैरै पाठ पढाउदो रहेछ ।मानिसमा आएको अहमपन ,बिज्ञानको प्रयोग ,प्रकृतिमाथिको आक्रमण र हामीमा रहेको परनिर्भरताले आज जीवन कष्टकर बनेको छ ।सन्सारलाई आफ्नो अधीनमा राखेको घमण्ड गर्ने मान्छे आज थला परेको सिपाही जस्तै भएको छ।माछाको गतिविधिमा बाधा छैन ;चरा स्वच्छन्द आकाशमा उडिरहेका छन ,जङ्गलका जनावरहरु मानिसको अवरोधको अभावमा दङ्ग छन् ।नदीको बहाव निरन्तर चलिरहेको छ ।

चैत -बैशाखको सुखमय क्षणमा धर्ती रोमान्चित बनेको नै छ तर बम र क्षेप्प्यास्त्रको आडमा बिश्व बिजेता बनेको मानव आज स्वयं नियंत्रित छ ।उसले बनाएको बैज्ञानिक उपलब्धि र हतियार ब्यर्थ बनेको छ ।मानवका लागि बनाइएका औसधी पनि काम नलाग्ने भएको अवस्था छ ।मानवमाथि शासन गर्न र सुब्यबस्थित समाज निर्माणका लागि बनाइएका राजनीतिक वाद पनि अर्थहीन देखिएको छ।सभ्यताको उच्चास्थानमा बसेको शक्तिशाली राज्यहरु हावाले पीपलको पात हल्लाएझै कोरोना भाइरसका कारण हल्लिरहेका छन् ।आज मानव समाज त्रसित छ। तसर्थ गौतम बुद्धका आदर्श सिकेका हामी नेपालीले प्रकृतिको गीत गाउनु पर्छ । ।सगरमाथाको उचाईझैं नेपाली स्वाभिमानको रक्षा गर्न उठ्नुपर्छ । हाम्रा वनपाखाहरुको हरियालीभित्र पशुपन्छीले क्रीडास्थल बनाउन सक्नुपर्छ ।हाम्रा मौलिकपनबाट नै दुनियाँभर परिचित हुन सक्ने कर्म गर्नुपर्छ ।परनिर्भरताले हामीलाई धोका दिने निश्चित नै छ । हाम्रो संस्कृति नै सर्वश्रेष्ठ छ भन्ने आत्मबिश्वास बोकेर देखिन जरुरी छ ।

आज सन्सार मानवजातिको युगौदेखिको उपलब्धिलाई अन्तै राखेर कोरोना भाइरसरुपी शत्रुसग लडिरहेको छ।यो लडाइँमा हामी नेपालीले मात्र होइन बिश्वले जित्नु पर्छ ।मान्छेभन्दा अर्को प्राणीबाट यो सड्ढटको समाधान सम्भव छैन् । जित्नु मान्छेले नै पर्छ।समस्याका साथमा समाधान निश्चित नै हुन्छ ।तसर्थ हामीले हाम्रो धर्तीलाई माया गरौं ,प्राणी र वनस्पतिको महिमालाई बुझौं र मानव जीवनको सार्थकताको मार्ग पहिल्याउन तत्पर होऔ !वनस्पतिमा आउने परिवर्तनझैं कोरोना पछि नयाँ विचारको र कर्मको सुरुवात गर्न सकोस् !

डा. बाबुराम पाण्डे

सम्बन्धित् समाचार