गृहपृष्ठ खबर पछिल्लो तीन दिनमा नेपालमा ७२८ जना नयाँ कोरोनाभाइरस संक्रमित,तीव्र गतिमा संक्रमितहरु बढ्दै

पछिल्लो तीन दिनमा नेपालमा ७२८ जना नयाँ कोरोनाभाइरस संक्रमित,तीव्र गतिमा संक्रमितहरु बढ्दै

पछिल्लो तीन दिनमा नेपालमा ७२८ जना कोरोनाभाइरस संक्रमितका नयाँ बिरामी फेला परेका छन् । सोमबार, मंगलबार र बुधबार नयाँ संक्रमित ह्वात्तै थपिएका हुन् ।

गत सोमबार पहिलोपटक एकै दिन २०० भन्दा बढीको संख्यामा नयाँ संक्रमित भेटिएका थिए । त्यस यता हरेक दिन २०० भन्दा बढी संक्रमित भेटिएका छन् । मंगलबार अहिलेसम्मकै बढी २८८ संक्रमित भेटिएका छन् ।

नेपालमा कूल संक्रमितको संख्या दुई हजार ३०० पुगेको छ । तीमध्ये २७८ जना निको भएका छन् भने नौ जनाको मृत्यु भएको छ । अहिले उपचाररत संक्रमितको संख्या दुई हजार १३ छ ।

संक्रमितको संख्या बढ्न थालेपछि अस्पतालहरुमा बेड अभाव हुन थालेको छ । सरकारले अब गम्भीर बिरामी परेका बाहेक अन्य संक्रमितलाई घरैमा राखेर उपचार गर्ने गरी निर्देशिका जारी गरीसकेको छ ।

कोरोना संक्रमित भएर लक्षण नदेखिएमा अबदेखि घरमै बस्नुपर्ने गरी निर्देशिका जारी भएको हो । लक्षण नदेखिएका र सामान्य लक्षण देखिएकालाई अस्पतालमा राख्दा गम्भीर बिरामीहरूलाई उपचार गर्न अप्ठेरो हुनसक्ने भन्दै सरकारले निर्देशिका जारी गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको ‘कोभिड १९ आइसोलेसन व्यवस्थापन सम्बन्धी निर्देशिका २०७७’ अस्पतालमा आइसोलेसन र घरमा आइसोलेसनमा बस्दा ध्यान दिनुपर्ने कुरालाई उल्लेख गरिएको छ ।

नेपालमा ३ फागुनमा कोरोना संक्रमित पहिलो व्यक्ति फेला परेका थिए । त्यस यता ८३ दिनमा मात्र संक्रमितको संख्या १०० पुगेको थियो भने ९८ दिनमा ५०० पुगेको थियो । तर, ५०० पुगेको ६ दिनमा नै संक्रमित संख्या एक हजार नाघेको थियो । त्यसपछि तीव्र गतिमा संक्रमितहरु बढिरहेका छन् ।

सम्बन्धित् समाचार