विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण भएको लकडाउनले बालबालिकाहरु नियमित खोपसेवा बाट वञ्चित भएका छन् । सरकारले आह्वान गरेको बन्दाबन्दीका कारण स्थगित गरिएको खोपसेवा १० स्थानियतह मध्ये ९ स्थानियतहहरुले संञ्चालनमा ल्याउन सकेका छैनन ।
दैनिक रुपमा बढदै गएको कोरोना भाईरस संक्रमण १० स्थानियतहरु मध्ये यशोधरा गाउँपालिकामा १ सय ३५ जना संक्रमित पुष्टि भएका छन् । हरेक महिनाको १० गते देखि १४ गते सम्म संञ्चालन हुने खोपसेवा बढ्दो कोरोना भाईरसका कारण सञ्चालन गर्न नसकिएको यशोधरा गाउँपालिकाका स्वास्थ्य संयोजक ज्योति प्रकाश दुवेले वताए ।
यस्तै कृष्णनगर नगरपालिका , शिवराज नगरपालिका , बुद्धभूमि नगरपालिका , महाराजगञ्ज नगरपालिका , कपिलबस्तु नगरपालिका , बिजयनगर गाउँपालिका , मायाँदेबी गाउँपालिका र शुद्धोधन गाउँपालिकामा खोपसेवा सञ्चालन गर्न नसकिएको स्वास्थ्य संयोजकहरु बताउछन् । बालस्वास्थ्य महाशाखाले खोप संञ्चालन गर्न भनि पत्र पठाएको भएपनि संक्रमणको भयाभह स्थितीले सिमादुरी कायम गरेपनि वालवालिका सुरक्षित नहुने अवस्था देखिएपछि खोप सञ्चालन नगरिएको कृष्णनगर नगरपालिकाका स्वास्थ्य संयोजक अनिल बिश्वकर्माले वताए । बालबालिकालाई जन्मेदेखि १५ महिनाको अवधिमा सातपटक विभिन्न ११ प्रकारका रोगविरुद्ध खोप दिइन्छ ।
यसैगरि वालवालिकाले मात्र होईन गर्भवती महिलाहरुले नियमित गर्भजाँच गराउनवाट बञ्चित भएका छन् लकडाउनका कारण गर्भजाँच सेवा स्वास्थ्य चौकीहरुले दिन सकेका छैनन् । गर्भवती महिलाहरु स्वास्थ्य चौकी पुग्छन् तर बल्लतल्ल टाढैदेखि आईरन चक्की दिने गरेको गर्भवती महिलाहरु वताउँछन् ।
महामारीका बाबजुद बाणगंगा नगरपालिकाले १ महिना ढिला गरेर भएपनि खोपसेवा सम्पन्न गरेको छ । नगरपालिकाले ११ वटै वडाहरुमा हरेक महिनाको १७ देखि २१ गते सम्म सञ्चालन हुने खोपसेवा सम्पन्न गरेको स्वास्थ्य संयोजक ठगराज पौडेलले बताए । सिमादुरी कायम गरेर खोपसेवा सम्पन्न गरिएको नगरपालिकाले जनाएको छ ।
०७६ चैत्र महिनाको शुरुदेखि नै वालवालिकाहरु खोपबाट बञ्चित भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले सबै स्थानियतहहरुलाई खोपसेवा सुचारु गर्न निर्देशन दिएको हो । तर कोरोनाको बढ्दो महामारीका कारण स्थानियतहहरुले वालवालिकाहरुलाई खोपकेन्द्र सम्म ल्याउँदा सुरक्षित नहुन नसक्ने अवस्था देखिएपछि खोपसेवा सञ्चालन नगरेको जिल्ला स्वास्थ्य कार्यालय कपिलबस्तुका प्रमुख योगेन्द्र भगतले बताए ।








