गृहपृष्ठ खबर २०७६ को एसईई सञ्चालन नगर्न मन्त्रिपरिषदमा प्रस्ताव

२०७६ को एसईई सञ्चालन नगर्न मन्त्रिपरिषदमा प्रस्ताव

कोरोनाका कारण गत चैतमा स्थगित भएको २०७६ सालको प्रवेशिका परीक्षा (एसईई) सञ्चालन नगर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज विहानदेखि नै यस बारेमा बैठक थियो । बैठकले सो परीक्षा सञ्चालन नगर्ने र सोही व्यवस्थाका लागि निर्णयार्थ मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको थियो ।

मन्त्रालय सूत्रका अनुसार विद्यालयले नै गर्ने मूल्याङ्कनलाई मान्यता दिइनेछ । विद्यालयहरुले एसईईभन्दा अगाडि सेन्टअपका नामले तयारी परीक्षा लिइसकेका छन् ।

मन्त्रालय सूत्रका अनुसार विद्यालयले गरेको मूल्याङ्कनलाई आधार मानेर एसईईको प्रमाणपत्र जारी गर्न मापदण्ड बनाइनेछ । त्यसलाई राजपत्रमा प्रकाशित गरेर कार्यान्वयनमा लगिनेछ । राष्ट्रिय परीक्षा बोर्डले नै त्यसरी जारी गरिएका प्रमाणपत्रलाई प्रमाणीकरण गर्नेछ ।

कक्षा ११ र १२ का हकमा मन्त्रालयले पछि निर्णय गर्ने जनाइएको छ । सूत्रका अनुसार कक्षा ११ को परीक्षा नलिने सोचमा मन्त्रालय पुगेको छ भने कक्षा १२ को परीक्षा उपयुक्त समयमा सञ्चालन गरिनेछ ।

सम्बन्धित् समाचार