कपिलवस्तु, चैत्र ९ गते ।
लुम्बिनी शाक्यमुनी बृद्धा अनाथ आश्रमका अध्यक्ष ओमकार पाण्डेले तीनदिनदेखि अशान्त र असामान्य अवस्था रहेको शाक्यवंशीय राजधानी कपिलवस्तुमा शान्ति सद्भाव कायम गरेर अनमचैन कायम गर्न आग्रह गरेका छन् ।
विश्वमै शान्तिको सन्देश फैलाउने ठाउको उद्गमस्थल कपिलवस्तु अशान्त हुनु दुखद भएको भन्दै सबै पक्ष र समुदाय मिलेर बुद्ध शिक्षा अनुसरण गरि करुणा, मैंत्री र सद्भाव देखाउनु पर्ने बेला भएको बताएका छन् ।
गौतम बुद्धले देखाएको अहिंसा, शान्ति, मानव कल्याणको मार्ग र उपदेश अहिलेको अशान्त कपिलवस्तुका घटनामा पनि उत्तिकै सान्दर्भिक छ भन्दै उनले सबै पक्ष मिलेर बुद्ध स्थलको जनजीवन सहज बनाउनु पर्ने बताए ।
सनातनी हिन्दु मोर्चाका केन्द्रिय उपाध्यक्षसमेत रहेका उनले बुद्धको उपदेश र मार्गदर्शनलाई स्वीकार गरी अगाडि बढ्नसकेमा अहिले कपिलवस्तुलाई चाहिएको एकता, सहिष्णुता र आपसी सद्भावले नया उचाइ लिएर शान्ति बहाल हुन सहयोग पुग्ने बताए ।
गत शनिवार जिल्लाको महाराजगंज नगरपालिका–२, बर्दगा गाउमा हिन्दु र मुस्लिम समुदाय बिच विवाद हुदा जिल्लाको दक्षिणी क्षेत्र अशान्त बनेको छ ।








