रुपन्देहीमा दुई खिली चुरोटको पैसा माग्दा एक ६० वर्षीया महिलाको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार शुद्धोधन गाउँपालिका– १ सिसै बस्ने रेनु पटवारको हत्या भएको हो। उनको हत्याको अभियोगमा एक किशोरलाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार घटना यही चैत २ गते रातिको हो। सानो पसल गर्दै आएकी रेनु पसलमै सुत्ने गर्थिन्। त्यस दिन पनि पसलमै सुतेको अवस्थामा राति करिब ११ बजे एक १६ वर्षीय किशोर चुरोट किन्न पसलमा आएका थिए।
पसल खोलेर चुरोट दिएपछि किशोरले चुरोटको पैसा नदिएपछि विवाद भएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ। पैसा मागेपछि आवेशमा आएका किशोरले तत्कालै पसलमा रहेको कैँचीले रेनुको अनुहार, टाउको, हात र घाँटीलगायत शरीरका विभिन्न भागमा आक्रमण गरी बीभत्स हत्या गरेको खुलेको प्रनाउ चन्दले बताए।
हत्या चैत २ गते राति भए पनि स्थानीयले बिहान मात्रै घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। खबरलगत्तै इलाका प्रहरी कार्यालय बुटवलबाट प्रनाउ निशान्त श्रीवास्तव र इलाका प्रहरी कार्यालय रन्यौराबाट प्रहरी निरीक्षक प्रल्हाद केसीको कमान्डमा टोली घटनास्थल पुगेको थियो।
किशोरलाई शनिबार नियन्त्रणमा लिई सोही मितिबाट लागू हुने गरी रुपन्देही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भई अनुसन्धान भइरहेको चन्दले बताए। किशोर लागुऔषध सेवनकर्तासमेत रहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक बयानका क्रममा किशोरले हत्या गरेको स्विकारेका छन्। चुरोटको तलतल लागेपछि किन्न गएकोमा पैसा नदिएपछि रेनुले थप्पड हानेकाले आवेशमा आएर कैँचीले हानेको किशोरले स्विकारेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार घटनापछि किशोर आफ्नै घरमा गएका थिए। लुगा तथा शरिर धुने पखाल्ने गरी उनी घरमै सुतेका थिए।








