काठमाडौं । राष्ट्रिय सभा बैठकमा विशेष समयमा बोल्दै कपिलवस्तुकी सांसद बिमला घिमिरेले तराईका उर्वरभूमी मध्येको एक मानिएको कपिलवस्तुमा खेतीपातीको समयमा पनि मल खाद पुगेको छैन,किसानले मलखाद चाहियो भन्दैछन्,मलखाद उपलब्ध गराउन नसके किसानसँँग कसरी मुख देखाउने ? भावुक हुँदै भन्नु भयो । सरकारले किसानलाई निकास दिन सक्नुपर्ने उहाँको माग थियो ।
“खेतीपातीका बेला मलखाद उपलब्ध गराउन नसक्ने हो भने नेपालमा कृषि क्रान्ति कसरी हुन्छ ? हामी आत्मनिर्भर कसरी बन्छौं ? मन्त्रीज्यू तपाईँले नै भन्नु भएको हो यसपाली मलखादको अभाव हुँदैन तर अहिले चरम अभाव छ तपाईँँ किन मौन ? किसानको प्रश्नको जवाफ चाहियो । ”
सांसद घिमिरेले कपिलवस्तु देशकै सबैभन्दा धेरै कोरोना संक्रमित हुने जिल्लामा परेका भन्दै जिल्लाका लागि संघीय सरकार र प्रदेश सरकारले फरक मापदण्डका साथ कपिलवस्तुलाई कोरोना विरुद्धको लडाईमा सघाउन समेत माग गर्नुभयो । मुलुकभरमा ४ हजार बढी संक्रमित हुँदा कपिलवस्तु एक्लैमा ५७५ जना संक्रमित भएको तथ्यले कपिलवस्तु संघीय सरकारको जोडदार सहकार्यको प्रतिक्षामा रहेको प्रष्ट पार्नु भयो ।
उहाँले सरकारले क्षमता अनुसारको काम गरेको औल्याउनु भयो तर कपिलवस्तुका लागि विशिष्ट परिस्थति आएकाले स्वास्थ्य क्षेत्रमा यथेष्ट लगानीको माग गर्नुभयो । सरकारले लगानी बढाउन उहाँले विकल्प पनि प्रस्तुत गर्नु भयो ।
तत्कालीन जिविस कपिलवस्तुको खातामा रहेको करिव १५ करोड बजेट कपिलवस्तुको कोभिड बिरुद्धको कोषमा स्थानान्तरण गरेर कोरोना अस्पत्ताल र हरेक पालिकामा आइशोलेशन बनाउने काममा खर्च गर्न तत्काल रकमान्तरको निकास दिन अर्थमन्त्री यूवराज खतिवडाको ध्यानाकर्षण गराउनु भयो । अहिले पनि जिविस कपिलवस्तुको तत्कालीन कोषमा १५ करोड बढी बजेट रहेको छ ।
घिमिरेले आरडीटीको विश्वासनीयता माथि प्रश्न खडा भएकोले क्वारेण्टाइनमा रहेका सबैको पिसिआर परीक्षण हुने ब्यवस्था तत्काल मिलाउन माग गर्नु भयो । उहाँले महिला माथि हुने हिंसा लकडाउनका बेला बढि रहेको भन्दै तिलोत्तमा घटनावारे छानविनको माग गर्नु भयो ।