गृहपृष्ठ खबर बाणगंगाको वडा नं.६ द्धारा स्वास्थ्य तथा बालमैत्री सेवामा सक्रिय जनशक्तिलाई सम्मान

बाणगंगाको वडा नं.६ द्धारा स्वास्थ्य तथा बालमैत्री सेवामा सक्रिय जनशक्तिलाई सम्मान

वैखरी अनलाईन, बाणगंगा ।

बाणगंगा नगरपालिका वडा नं.६ ले सामुदायिक महिला स्वास्थ्य स्वयमसेविका, स्वास्थ्य विमा सहजकर्ता तथा बालमैत्री सहजकर्तालाई सम्मान गरेको छ। शुक्रबार वडा कार्यालयमा आयोजित विशेष कार्यक्रममा उनीहरुको योगदानको कदर गर्दै सम्मान तथा प्रोत्साहन सामग्री वितरण गरिएको हो।

कार्यक्रममा सामुदायिक महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई ६ वटा साइकल वितरण गरिएको छ भने स्वास्थ्य विमा सहजकर्ता र बालमैत्री सहजकर्तालाई इन्फ्रारेड चुलो प्रदान गरिएको वडा सचिव पुष्कर भुसालले जानकारी दिनुभयो।

ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पहुँच विस्तार र बालमैत्री गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका जनशक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान गरिएको वडाध्यक्ष करुण टण्डनले बताउनुभयो । उहाँले स्वास्थ्य तथा सामाजिक क्षेत्रमा काम गर्ने स्वयमसेविकाहरु वडा स्तरको मेरुदण्ड भएको उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो, “स्वास्थ्य स्वयमसेविका, विमा तथा बालमैत्री सहजकर्ताहरुको निरन्तर सक्रियताका कारण गाउँ–समाजमा सचेतना वृद्धि भएको छ। आगामी दिनमा पनि वडाले यस्ता कर्मशील व्यक्तिहरुको मनोबल बढाउन आवश्यक सहयोग र सम्मानलाई निरन्तरता दिनेछ।”

सम्मान प्राप्त एक स्वास्थ्य स्वयमसेविकाले आफूहरुको कामको कदर भएकोमा खुसी व्यक्त गर्दै यस्तो सम्मानले थप जिम्मेवारीका साथ काम गर्न प्रेरणा मिलेको बताउनुभयो।

वडाले यस प्रकारका कार्यक्रममार्फत स्थानीय स्तरमा सेवा प्रदान गर्ने जनशक्तिको सम्मान गर्दै उनीहरुको योगदानलाई थप प्रभावकारी बनाउने प्रयास गरिरहेको जनाएको छ।

सम्बन्धित् समाचार