अर्घाखाँचीका थप तीनजना पुरूषमा कोरोना पुष्टि भएको छ। यो सँगै अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ४१ पुगेको छ। भुमिकास्थान नगरपालिकाको वडा नम्बर ६ र ७ वडाका २०, ३५, ३५ बर्षिय पुरूषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ अधिकृत पुष्पा थापामगरले जानकारी दिइन्।
नगरपालिकाको ६ नम्बर वडाको जनचेतना आधारभुत विधालयको क्वारेन्टाइनमा बसेका २ जना र वडा नम्बर ७ को नुवाकोट माबिको क्वारेन्टाइनमा बसेका १ जनामा कोरोना पुष्टि भएको भुमिकास्थान नगरपालिकाका स्वास्थ्य प्रमुख हरिप्रसाद पन्थीले बताए। ती संक्रमित भारतबाट जेठको पहिलो हप्ता नेपाल आएका थिए।
स्थानीयतहले बनाएको क्वारेन्टाइनमा बसेको १४ दिन पुगेपछि आरडिटी जाँच गर्दा पोजेटिभ आएपछि उनिहरूको पीसीआर परिक्षणका लागी स्वाबको नमुना संकलन गरी भरतपुरको पशुपन्छी कार्यालयमा रहेको कोभिड १९ परीक्षण ल्याबमा पठाइएको थियो। स्वाब पठाएको लामो समयपछि रिपोर्ट आएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।
सोमबार बिहान भरतपुरबाट आएको पीसीआर रिपोर्टअनुसार ३ जनामा पोजेटिभ र अन्य ११८ जनामा नेगेटिभ देखिएको छ। संक्रमित पुरूषलाई वडा नम्बर ९ मा रहेको शारदा माविमा आइसोलेसन निर्माण गरी राखिने जनाइएको छ। आइसोलेसन बनाउने काम बिहानबाट सुरू भएको नगर स्वास्थ्य प्रमुख पन्थीले बताए। अहिलेसम्म जिल्लामा कोरोना कोरोना संक्रमित २ जनाको मृत्यु भएको छ।