रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको आइसोलेशन अस्पतालबाट १७ जना डिस्चार्ज भएका छन् । नगरपालिकाको वडा नं १ बनकट्टा,पदमपाणी योग तथा प्राकृतिक चिकित्सालयमा निर्माण गरिएको सैनामैना आइसोलेशेन अस्पतालबाट आज विहिबार १७ जना डिस्चार्ज भएको नगरपालिका स्वास्थ्य शाखाका प्रमुख हेमराज पन्थीले जानकारी दिनुभयो ।
पन्थीका अनुसार संक्रमण भएका तर कुनै लक्षण नदेखिएकालाई डिस्चार्ज गरिएको हो । डिस्चार्ज हुनेहरु १८ देखी ५० बर्ष उमेर समूहका छन् । उनीहरु सबै पुरुष हुन् । भारतका विभिन्न स्थानबाट आई उनीहरु क्वरेण्टीनमा बसेका थिए । अस्पतालले एक हप्ता होम क्वरेण्टीनमा बस्न आग्रह गरेको छ । हाल आइसोलेशनमा ७ जना संक्रमित उपचाररत छन् ।
यो सँगै सैनामैनामा कोरोना निको हुनेको संख्या २२ पुगेको छ । यसअघि भिम अस्पताल भैरहवाबाट ४ जना र त्रि।वि शिक्षण अस्पताल काठमाण्डौबाट वडा नं १ की एक महिला उपचार पछि निको भएर घर फर्किएका छन् ।
सैनामैनामा अहिलेसम्म ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यसैबिच कन्चन गाउँपालिकाका १ जना संक्रमित पुरुष पनि सैनामैना आइसोलेसनबाट यसअघि नै निको भएर घर फर्किसकेका छन् । उनको पीसीआर परीक्षणका लागि स्वाब भने कपिलवस्तुबाट संकलन गरिएको थियो । उनलाई उपचारका लागि सैनामैना बनकट्टा आइसोलेशनमा ल्याइएको थियो ।







