गृहपृष्ठ खबर पाल्पामा शव व्यवस्थापनमा खटिएका दुई सैनिकमा नै कोरोना पुष्टि

पाल्पामा शव व्यवस्थापनमा खटिएका दुई सैनिकमा नै कोरोना पुष्टि

पाल्पामा कोरोना सङ्क्रमणले ज्यान गुमाएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका दुई सैनिकमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।

प्रदेश प्रयोगशाला भैरहवामा हिजो थपिएका ७७ सङ्क्रमितमध्ये शव व्यवस्थापनमा खटिएका दुई जना सैनिक पनि रहेका स्वास्थ्य कार्यालय, पाल्पाले जनाएको छ । भारतबाट घर फर्किएका पूर्वखोला गाउँपालिका, सिलुवाका ३६ वर्षीय एकजना पुरुषको गएको जेठ २० गते उपचारका क्रममा तानसेनमा रहेको युनाइटेड मिशन अस्पतालमा ज्यान गएको थियो ।

ज्यान गुमाएका ती पुरुषमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि २२ गते पाल्पा बुटवल सडक खण्डको डुम्रेखोलामा शव व्यवस्थापन गरिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको शव व्यवस्थापन कार्यविधि अनुसार नै नेपाली सेनाले शव व्यवस्थापन गरेको थियो ।

सडकदेखि शव व्यवस्थापनस्थलमा पुर्याउने क्रममा ठूलो पानी परेको, मृतकको र्याल चुहिएको जस्ता कारणले समस्या आएको हुन सक्ने स्वास्थ्य कार्यालय, पाल्पाले आशंका गरेको छ । शव व्यवस्थापनदेखि नै व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई आइसोलेशनमा राखिएकाले सबै सुरक्षित रहेको तानसेनस्थित गोरखदल गणले जनाएको छ ।

मिशन अस्पतालका डाक्टरकै निगरानीमा उनीहरुलाई सुरक्षित राखिएको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको नेपाली गणले जनाएको छ ।

 

सम्बन्धित् समाचार