गृहपृष्ठ खबर मास्क नलगाई घरबाहिर निस्किनेलाई नियन्त्रणमा लिन गृहको ७७ वटै जिल्ला प्रशासनलाई निर्देशन

मास्क नलगाई घरबाहिर निस्किनेलाई नियन्त्रणमा लिन गृहको ७७ वटै जिल्ला प्रशासनलाई निर्देशन

गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न प्रहरी र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । सोमबार दिउँसो प्रशासन र प्रहरीलाई परिपत्र गर्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड अनुसार सामाजिक दूरी कायम नगर्ने र मास्क बिना बाहिर हिँडडुल गर्नेमाथि संक्रमक रोग नियन्त्रण ऐन अनुसार कारबाही गर्न निर्देशन दिएको गृहका सहप्रवक्ता उमाकान्त अधिकारीले बताए ।

लकडाउनलाई स्वास्थ्य मापदण्ड पालना गर्दै खुकुलो बनाउने नीति अबलम्वन गरिएपनि सर्वसाधारणसहित सरकारी, निजी तथा गैरसरकारी संघसंस्था र कार्यालयले यसको उल्लंघन गरेकोले तत्काल कडाइका साथ पछिल्लो निर्देशन कार्यान्वयन गराउन गृहले निर्देशन दिएको अधिकारीले बताए ।

‘स्वास्थ्य मापदण्ड पालना नगर्दा राजधानी नै संक्रमणको उच्च जोखिममा रहेको देखिएकोले गृहको निर्देशन र परिपत्र सरकारी, गैरसरकारी र निजी क्षेत्र तथा स्वयं सर्वसाधारणलाई कडाइका साथ लागू गर्न प्रशासन र प्रहरीलाई परिपत्र गरेका हौं,’ उनले भने, ‘निर्देशन उल्लंघन गर्नेलाई पक्राउ र जरिवाना सम्मको कारबाही हुन्छ ।’

सरकारले असार १ गतेबाट लागू हुनेगरी लकडाउन खुकुलो बनाएको थियो । त्यसयता सडक र बजार, कलकारखानामा मास्करसेनिटाइजर प्रयोग र सामाजिक दूरी पालना नगर्ने प्रवृत्ति बढ्दै गएको छ ।

सम्बन्धित् समाचार