गृहपृष्ठ खबर निजी स्कुलका शिक्षकको लकडाउनको तलब सरकारले दिनुपर्ने भन्दै इस्टु कपिलवस्तुले बुझायो ज्ञापनपत्र

निजी स्कुलका शिक्षकको लकडाउनको तलब सरकारले दिनुपर्ने भन्दै इस्टु कपिलवस्तुले बुझायो ज्ञापनपत्र

कपिलवस्तु । कपिलवस्तु जिल्लामा निजी विद्यालयमा अध्यापनरत शिक्षकहरूको संगठन संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु ) कपिलवस्तुले निजी विद्यालयका शिक्षकको बैशाखदेखिको तलब सरकारले दिनुपर्ने माग राखेको छ । आइतबार प्रमुख जिल्ला अधिकारीमार्फत शिक्षा मन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा उक्त माग राखिएको हो । युनियनले ५ बुँदे मागसहितको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी लाई बुझाएको हो । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले शिक्षकहरूको समस्या प्रति आफू संवेदनशील रहेको र सम्बन्धित निकायसमक्ष समस्या समाधानका लागि पहल गर्ने बताए ।

कोरोना भाइरस (कोभिड-१९) को विषम परिस्थितिमा पनि संस्थागत विद्यालयका शिक्षक कर्मचारीहरुले अनलाइन कक्षालगायत अन्य तोकिएको कार्य नियमित रुपमा गर्दै आइरहेको तर पूर्वनिर्धारित तलव, सेवासुविधा प्राप्त हुन्छ वा हुँदैन त्यसको निश्चित हुन नसकेको र यसतर्फ राज्य पक्ष र विद्यालय व्यवस्थापन पक्ष गम्भीर नदेखिएको कारणले आफूहरू चरम चपेटामा परेकाे इस्टु कपिलवस्तुका अध्यक्ष मोहित मिश्रले बताए ।

इस्टु कपिलवस्तुका अध्यक्ष मोहित मिश्रको नेतृत्वमा गएको निजी विद्यालयका शिक्षकहरूको टोलीले प्रमुख जिल्ला अधिकारी मार्फत शिक्षा मन्त्रीलाई उक्त ज्ञापनपत्र बुझाएको हो । माग यथोचित समयमा पूरा नभए चरणबद्ध अान्दोलनको घोषणा गर्ने युनियनका जिल्ला सचिव रामप्रसाद अधिकारीले बताए ।

इस्टु कपिलवस्तुले शिक्षा मन्त्रीलाई बुझाएको ज्ञापनपत्र :

“कोरोना भाइरसको विषम परिस्थितिले गर्दा सम्पूर्ण विद्यालयहरुमा पठनपाठन बन्द भएको सर्व विदित नै छ । यस्तो अवस्थामा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले पाउँदै अाएको सेवा सुबिधा कायमै रहेको छ तर संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरूको सेवा सुविधाको बारेमा हामी सबै अन्योलमै छौँ ।

कोरोना भाइरस (कोभिड-१९) को विषम परिस्थितिमा पनि संस्थागत विद्यालयका शिक्षक कर्मचारीहरुले अनलाइन कक्षालगायत अन्य तोकिएको कार्य नियमित रुपमा गर्दै आइरहँदा समेत पूर्वनिर्धारित तलव, सेवासुविधा प्राप्त हुन्छ वा हुँदैन त्यसको निश्चित हुन सकेको छैन । यसतर्फ राज्य पक्ष र विद्यालय व्यवस्थापन पक्ष गम्भीर नदेखिएको कारणले हामी संस्थागत विद्यालयका शिक्षक चरम चपेटामा परेका छौँ ।
यस्तो विषम परिस्थितिमा राज्यका सेवकका रुपमा रहेका सामुदायिक विद्यालयका शिक्षकलाई सेवा सुविधा दिने सरकारले संस्थागत विद्यालयमा कार्यरत शिक्षकका लागि समेत राहतको व्यवस्था गर्नुपर्दछ भन्दै तपसिल अनुसारका मागहरू राख्दै यो ज्ञापनपत्र पेश गरेका छौँ :

१. संस्थागत विद्यालयमा कार्यरत सबै शिक्षकलाई पूरा तलब दिइयोस् ।
२. अन्य विकल्प नहोउन्जेल बैशाखदेखिको शिक्षकको तलब सरकारद्वारा नै राहत व्यवस्था गरी सञ्चालकलाई दिन निर्देशन दिइयोस् ।
३.लकडाउनको समयमा शिक्षक निस्कासन गर्ने काम बन्द गरियोस् र निस्कासित शिक्षकलाई पुनर्वाहली गरियोस् ।
४.सम्पूर्ण निजी विद्यालयलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचिकृत हुनुपर्ने बाध्यकारी व्यवस्था गरियोस् ।
५. संस्थागत विद्यालय अनुगमन ,वर्गीकरण तथा शुल्क निर्धारण समितिमा शिक्षक युनियनकाे अनिवार्य प्रतिनिधित्वको व्यवस्था गरियोस् ।

माथिका मागहरू यथोचित समयमा पूरा नभएको खण्डमा संस्थागत विद्यालय शिक्षक युनियनले चरणबद्ध आन्दोलनको घोषणा गर्न बाध्य हुनेछ ।”

सम्बन्धित् समाचार