गृहपृष्ठ अर्थ/वाणिज्य हितग्राही(डिम्याट) खाता भनेको के हो ?,डिम्याट खाता कहाँ र कसरी खोल्ने ?

हितग्राही(डिम्याट) खाता भनेको के हो ?,डिम्याट खाता कहाँ र कसरी खोल्ने ?

काठमाडौं : डिम्याट खाता पनि बैंक खाता जस्तै हो। यस्तो खाता खोल्न धितोपत्र बोर्डबाट निक्षेप सदस्यता (डिपोजिटरी पाटिसिपेन्ट अर्थात् डीपी) सेवाका लागि अनुमति पाएका कम्पनीमा गएर यस्तो खाता खोल्न सकिन्छ।

हाल धितोपत्र ददाल, बैंक तथा वित्तीय संस्था, मर्चेन्ट बैंकर, हस्तान्तरण प्रतिनिधिलगायत संघसंस्थाले बोर्डबाट अनुमति लिएर यस्तो सेवा सञ्चालन गरेका छन्। आफूलाई पायकपर्ने कुनै कम्पनीमा गएर ‘डिम्याट’ खाता खोल्नुपर्छ। यसका लागि नागरिकताको फोटोकपी र दुईप्रति पासपोर्ट साइजको फोटो चाहिन्छ।

पहिले खरिद गरेको सेयर भौतिक (कागजी) प्रमाणपत्रका रूपमा पाइन्थ्यो। त्यो व्यवस्था हटेकाले अहिले विद्युतीयरूपमा डिम्याट खातामा जम्मा हुन्छ। डिम्याट खाता खोल्दा कम्पनीले बैंकको जस्तै चेकबुक दिन्छ। सेयर बिक्री गर्दा चेक काटेर दिनुपर्छ। खरिद गरेको अवस्थामा उक्त सेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा हुन्छ।

यसकारण अहिले सबै प्रकारका सेयर कारोबारका लागि डिम्याट खाता अनिवार्य गरिएको हो। डिम्याट सेयरको मात्र कारोबार सुरु भएपछि कागजी सेयर पनि डिम्याट गर्नुपर्छ।त्यसका लागि आफूसँग भएको सेयर डिम्याट खाता खोलेको कम्पनी वा सम्बन्धित बिक्री प्रबन्धक डिम्याट गराउनुपर्छ।

त्यसपछि मात्र कारोबारका लागि योग्य हुन्छन्।सेयरमा लगानी गर्न बैंक तथा वित्तीय संस्थाबाट ऋण सुविधा पनि पाइन्छ। हाल बैंक तथा वित्तीय संस्थाले सेयर धितो राखेर र ब्रोकरको जमानीमा (सेयर धितो नराखी) गरी दुई प्रकारले ऋण दिँदै आएका छन्।

सेयर धितो राखेर पाइने ऋणका लागि लगानीकर्ताले सेयर प्रमाणपत्र (हाल डिम्याट खातामा सेयर रहेको प्रमाणित कागजात) धितो राख्नुपर्छ। बैंक तथा वित्तीय संस्थाले सेयर खरिदका लागि प्रवाह गर्ने ऋणमा एकै प्रकारको ब्याजदर पाइँदैन। नियमितरूपमा बैंकिङ कारोबार गरिरहेका, नियमित आम्दानीको स्रोत भएका, राम्रा (ब्लु चिप) कम्पनीका सेयर भएका लगानीकर्ताले केही सस्तो ब्याजदरमा ऋण पाउँछन्।

अन्य लगानीकर्ताले भने केही महँगो ब्याज तिर्नुपर्छ। सेयरमा लगानीका लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिँदा नागरिकताको फोटोकपी, धितोमा राख्ने सेयर, डीपी कम्पनीमार्फत डिम्याट खातामा सेयर रहेको प्रमाणीकरणलगायत बैंकले माग्ने कागजात चाहिन्छ।

नेपाली सेयर बजारमा गत वर्षदेखि अभौतिक सेयर (डिम्याट अर्थात् कागजी रूपमा रहेको सेयर विद्युतीय माध्यममा परिणत गर्ने प्रक्रिया) को कारोबार हुँदै आएको छ। भौतिक (कागजी) सेयरको कारोबार गर्दा हुने विभिन्न झन्झट न्यूनीकरण गरी सेयर बजारलाई व्यवस्थित, पारदर्शी, सुरक्षित र आधुनिक बनाउने उद्देश्यले डिम्याट सेयर मात्र कारोबार सुरु गरिएको हो।

यो व्यवस्था लागू भएपछि प्राथमिक निष्कासनमा परेको सेयर डिम्याट रूपमै पाइन्छ। तपाईंलाई परेको सेयर तपाईंको डिम्याट खातामा सीधै जम्मा हुन्छ। यसकारण सेयर फारम भर्दा डिम्याट खाता अनिवार्य चाहिन्छ। सेयरमा लगानी गर्ने हो भने यस्तो खाता खोलिराख्दा हुन्छ।

 

थप केही जानकारी

केन्द्रिय निक्षेप प्रणाली भनेको के हो ?
केन्द्रिय निक्षेप प्रणाली अर्थात सिडिएस सेयरको बैंक हो । यसले भौतिक तथा अभौतिक रूपमा धितोपत्र धारण गरी किताबी प्रबिष्टिमार्फत हकहस्तान्तरण कार्य सम्भव बनाउँदछ । केन्द्रिय निक्षेपले धितोपत्र बजारमा सूचिकृत भएका तथा बिद्युतीय माध्यममा निक्षेप गर्न मिल्ने वितरण वा बाँडफाँड भएका धितोपत्र सम्बन्धित धितोपत्र धनीबाट आफ्नो जिम्मामा लिर्इ धितोपत्र धनीहरुको धितोपत्र सम्बन्धित डिम्याट खाता खोल्ने तथा धितोपत्र वा उपकरणहरुको नामसारी वा खातामा अभिलेख गर्ने कम्पनी हो ।

डिम्याट भनेको के हो ?
डिम्याट भनेको कागजी रूपमा रहेको भौतिक सेयर प्रमाणपत्रहरुलाई विद्युतीय प्रणालीमा अभिलेख राख्ने कार्य हो । अर्थात भौतिक रूपमा भएका सेयर प्रमाणपत्रलाई अभौतिक( इलेक्ट्रोनिकीकरण) गर्ने प्रक्रिया हो ।

सेयर बजारमा प्रचलनमा रहेको कागजी प्रक्रियालाई सुरक्षित बनाउन र व्यवस्थित गर्न सेयर प्रमाणपत्रलाई डिम्याट गरिन्छ । डिम्याटको सुरुवातले सेयर कारोबार छिटोछरितो गर्न सघाएको छ । सेयरको अभौतिकीरणले सेयर प्रमाणपत्र बोकेर हिँडने, च्यातिने, बिग्रने, हराउने जस्ता समस्याबाट लगानीकर्ताले मुक्ति पाएका छन् ।

हितग्राही भनेका को हुन् ?
हितग्राही भन्नाले निक्षेप सदस्य मार्फत सिडिएससिमा धितोपत्र निक्षेप गर्न हितग्राही खाता खोलेका तथा विद्युतीय माध्यममा निक्षेप गर्न मिल्ने धितोपत्र ग्रहण गरेका व्यक्ति हुन् ।

हितग्राही(डिम्याट) खाता भनेको के हो ?
हितग्राहीले धितोपत्र निक्षेप गर्न निक्षेप सदस्यमार्फत केन्द्रिय निक्षेप कम्पनीसँग बेग्लै खाता नम्बरबाट खोलेको विद्युतीय खाता नै हितग्राही खाता हो । हितग्राहीले सिडिएससिमा डिम्याट खाता खोल्न निक्षेप सदस्यमार्फत सम्पूर्ण विवरणहरु प्रणालीमा प्रविष्टि गरेपछि प्रणालीबाट उत्पन्न हुने १६ अंकको पृथक डिम्याट नम्बर उपलब्ध गराईन्छ । भविष्यमा गरिने सबै सेयर कारोवारहरुमा यो नम्बर उल्लेख गर्नुपर्दछ ।

डिम्याट खाता कहाँ र कसरी खोल्ने ?
डिम्याट खाता धितोपत्र बोर्डबाट निक्षेप सदस्यको कार्य गर्न अनुममति पत्र प्राप्त निक्षेप सदस्यता लिएका बैंक तथा वित्तीय संस्था, मर्चेन्ट बैंक र ब्रोकर कम्पनी मार्फत खोल्न सकिन्छ । सिडिएससिमा खाता खोल्ने प्रक्रिया पनि बैंकमा खाता खोल्ने प्रक्रिया जस्तै हो । जसरी बैंक खाता खोल्न विभिन्न कागजपत्र आवश्यक हुन्छ्न्, त्यसैगरी, डिम्याट खाता खोल्न पनि आवश्यक कागजातहरु पेश गरी खाता खोल्ने फाराम भरेर बुझाएपछि निक्षेप सदस्यले सिडिएस लिमिटेडको प्रणालीमा प्रविष्ट गर्दछ । उत्तm प्रविष्टिलाई सिडिएससिबाट सदर भएपश्चात डिम्याट खाता खुल्दछ र हितग्राहीलाई सदर गरेको पत्र प्राप्त भएपछि डिम्याट खाता खोल्ने प्रक्रिया पूरा हुन्छ । डिम्याट खाता खोलेपछि आफूसँग भएका वा खरिद गरेका सेयर यही खातामा जम्मा हुन्छ्न् । जसरी बैंक खातामा पैसा जम्मा गरिन्छ भने डिम्याट खातामा सेयर जम्मा गरिन्छ । डिम्याट खाता खोलेपछि हितग्राही अथवा लगानीकर्तालाई १६ अंकको डिम्याट खातानम्बर र चेक बुक अर्थात हस्तान्तरण निर्देशन पुर्जी दिइन्छ । सेयर खरिदबिक्री गर्दा डिम्याट खाता ब्रोकर कम्पनीलाई दिनुपर्ने हुन्छ । सेयर खरिद गरेपछि सेयर डिम्याट खातामा जम्मा हुन्छ भने सेयर बिक्री गर्दा चेक काटेर ब्रोकर कम्पनीलाई दिएपछि सेयर खाताबाट सेयर खरिदवालाको खातामा सेयर हस्तान्तरण भर्इ हाम्रो डिम्याट खाताबाट सेयर घट्दछ ।

डिम्याट खाता खोल्न के-के कागजात चाहिन्छ ?
डिम्याट खाता अनुमतिप्राप्त कुनै पनि सदस्य कहाँ खोल्न सकिन्छ । खाता खोल्न पहिला नै कुनै प्रकारको सेयर हुनैपर्छ भन्ने हुँदैन । सेयर हुने र नहुने सबैले यो खाता खोल्न सक्छ्न् । डिम्याट खाता खोल्न खाता खोल्ने सम्बन्धित लगानीकर्ताको तीन पुस्ते विवरणसहित नागरिकताको फोटोकपि, फोटो आवश्यक हुन्छ । परिवारको एक सदस्यले खाता खोलेर सबै सदस्यलाई हुँदैन, हरेक सदस्यले अलग अलग डिम्याट खाता खोल्नु पर्दछ । नाबालकको हकमा नाबालकको फोटो, जन्मदर्ता प्रमाणपत्रको फोटोकपी र संरक्षकको नागरिकताको फोटोकपी आवश्यक हुन्छ । डिम्याट खाता खोल्न रु ५० र वार्षिकी खाता संचालन शुल्क रु १०० गरी सुरुमा खाता खोल्दा रु १५० लाग्दछ भने प्रत्येक बर्ष रु १०० तिरेर डिम्याट खाता नविकरण गर्नु पर्दछ ।

पहिलै सेयर प्रमाणपत्र हुने लगाकर्ताले डिम्याट खातामा सेयर जम्मा गर्न आफूसँग भएको सेयर लिएर जाने र हरेक कम्पनीको सेयरको विवरण भर्ने निक्षेप सदस्यले दिने अलग्गै अभौतिकिकरण गर्ने फारम भरेर सेयर प्रमाणपत्रको प्रतिलिपी बुझाए पछि सेयर डिम्याट खातामा जम्मा हुन्छ ।

डिम्याट खाताका फाइदा के के हुन्छन् ?

सेयर बजारको आकार बढाउन मद्दत पुर्याउने
कारोबार संख्या र कारोबार रकममा व्यापक वृद्धि हुने
भौतिक प्रमाणपत्रहरुमा भएका जोखिम हटाउने
सूचिकृत कम्पनीले सेयरधनीलाई दिएको बोनस सेयर सिधै डिम्याट खातामा जम्मा हुने
साधारण सेयर निश्कासन गर्ने कम्पनीले सेयर बाँडफाँड गरी डिम्याट खातामार्फत सेयर वितरणगर्दा सेयर प्रमाणपत्र छाप्नुपर्ने खर्च तथा समयको बचत हुने
दोस्रो बजारमा सेयर कारोवार भएपछि राफसाफ प्रक्रियासमेत छिटो हुन्छ ।
सेयर बिक्री गरेपछि छिट्टै पैसा बिक्रेताको हातमा पर्ने
धितोपत्रहरुको तुरुन्तै हस्तान्तरण तथा सार्वजनिक निस्कासनबाट वितरित सेयरहरुको शिघ्र वितरण हुने
बिना झञ्झट तुरुन्त सेयर नामसारी गर्न सकिने
पोर्टफोलियो व्यवस्थापन तथा सेयरहरुको बन्धकिमा सहजता आदि ।
डिम्याट खाता एक जना व्यक्तिले बढिमा दुईवटा सम्म खोल्न सक्दछ । यसरी सेयर बजारमा प्रवेश गर्ने विचार गर्नु भएको नयाँ लगानीकर्ताले सुरुमा डिम्याट खोलेर मात्र आउनु होला । प्राथमिक बजार तथा दोस्रो बजारमा सेयर खरिदबिक्री गर्न अनिवार्य डिम्याट खाताको आवश्यकता पर्दछ । डिम्याट खाता बिना अहिले कुनै पनि सेयर कारोवार गर्न सकिन्न ।

सम्बन्धित् समाचार