रुपन्देहीको सैनामैना नगरपालिकामा यस बर्ष २० हजार चिउरीका विरुवा रोपिदैँ छन् ।
नेपालका प्रथम जन–निर्वाचित प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका संस्थापक बि।पी कोईरालाको ३८ औँ स्मृति दिवस र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवसको अवसरमा नगरपालिकाको आयोजनामा २० हजार चिउरीका विरुवा रोप्न थालिएको हो । विरुवा मंगलबार र बुधबार विहान ७ बजे देखी रोप्ने कार्यक्रम छ ।

मंगलबार बिपि कोइरालाको स्मृति दिवसमा वडा नं ३ र ५ मा रहेको सामुदायिक बनमा १० हजार चिउरीका विरुवा र बुधबार पुष्पलाल श्रेष्ठको स्मृति दिवसमा वडा नं ९ को सामुदायिक बन एवम् सेनाहरुकोे सैन्य तालिम केन्द्र सीमाभित्र रहेको खुइलिएको चुरे पहाडमा पनि १० हजार नै चिउरीका विरुवा रोपी स्मृति दिवस मनाउन थालिएको सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले जानकारी दिनुभयो ।
उहाँले नगरले मौरी स्रोत केन्द्र निर्माण गर्न गइरहेको बताउँदै मौरी स्रोत केन्द्र संचालनका लागि चिउरीका बोटहरु लगाउन थालिएको बताउनुभयो ।
कार्कीले भन्नुभयो – ‘यस बर्ष नगरपालिकालाई मौरी स्रोत केन्द्र निर्माण गर्न गइरहेका छौँ । यसका लागि चिउरीका विरुवा रोप्न थालिएको हो । यसको फुलबाट राम्रो गुणस्तरीय मह उत्पादन गर्न सकिन्छ । ’ वातावरण हराभरा गराउने र आर्यआर्जनमा पनि टेवा पु¥याउने उद्देश्यका साथ बिरुवा रोप्ने तयारी गरिएको कार्कीको भनाइ छ ।
बृक्षारोपणका कार्यक्रमका माध्यमबाट नेताहरुको स्मृति दिवस भब्यताका साथ मनाउने कार्यक्रम रहेको नेपाल कम्युनिष्ट पार्टी सैनामैनाका अध्यक्ष चेत नारायण न्यौपानेले बताउनुभयो ।
नेपाली कांग्रेस सैनामैना नगरसभापति रामप्रसाद अधिकारीले स्मृति दिवसको सम्मान स्वरुप मंगलबार बृक्षारोपण कार्यक्रमका लागि सार्वजनिक लेखा समितिका सभापति एवम् सांसद भरत कुमार शाहले प्रमुख आतिथिको रुपमा सम्बोधन गर्न आउनुहुने जानकारी दिनुभयो ।
त्यस्तै बुधवार प्रदेश नं ५ का उद्योग वन, पर्यटन तथा वातावरण मन्त्री लिला गिरीको प्रमुख आतिथ्यतामा बृक्षारोपण गरिने छ ।
यस खालका विरुवाहरु बर्षेनी लगाउने, विरुवा लगाएको ठाउँमा तारबार गर्ने, घेरालुहरु राख्ने र रोपेका सबै विरुवाहरु हुर्काउने र संरक्षण गर्ने ठोस प्रभावकारी कार्य योजना सहित बृक्षारोपणको कार्यक्रमलाई अगाडि बढाएको नगरपालिकाले जनाएको छ ।
बृक्षारोपण कार्यक्रम नेपाली सेनाको कालिगढदल, राष्ट्रपति चुरे तराई मधेश कार्यक्रम बुटवल स्थित कलस्टर इकाई कार्यालय, डिभिजन बन कार्यालय रुपन्देही, पर्रोहा सामुदायिक बन, नेपाल कम्युनिष्ट पार्टी सैनामैना र नेपाली कांग्रेस सैनामैनाको सहकार्य र सहयोगमा विरुवा रोप्न थालिएको हो ।
चिउरीका विरुवा राष्ट्रपति चुरे मधेश तराई विकास कार्यक्रम कलस्टर इकाई कार्यालय बुटवलको सहयोगमा उपलब्ध भएको हो । इकाई कार्यालय बुटवलले भने विरुवा चितवनको नर्सरी बाट खरिद गरी ल्याएको हो । चिउरीका विरुवा कम्तिमा १० फिटको दुरीमा लगाइने छ







