गृहपृष्ठ खबर नारायणी नदीले खतराको तह नाघ्यो, ३० घर परिवारलाई राति नै सारियो

नारायणी नदीले खतराको तह नाघ्यो, ३० घर परिवारलाई राति नै सारियो

प्रकाशित मिति:

चितवनका दुई ठूला नदीहरुमा पानीको सतह निकै बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नारायणी नदीले खतराको तह पार गरेको छ भने, राप्ती नदी चेतावनीको तहभन्दा माथि पुगेको छ ।

नारायणी नदीको जलसतह ८ मिटरभन्दा माथि पुग्यो भने खतराको तह मानिन्छ । तर देवघाट क्षेत्रमा गरिएको मापनमा अहिले जलसतह ९।८१ मिटर पुगेको छ । जल सतह अझै बढ्ने क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

नारायणी नदी बढ्दा भरतपुर महानगरपालिका वडा नं. २६ का विभिन्न स्थानमा कटान र डुबान हुन थालेको छ । वडाध्यक्ष ज्ञानप्रसाद खनालका अनुसार वडाको कोइला, सिसैँ, भगडि भन्ने ठाउँ सबैभन्दा बढी जोखिममा छन् । सो ठाउँका झण्डै ३० घर परिवारलाई राति नै सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष खनालले बताए । उनले जुनसुकै बेला पनि कटान गरेर नदी बस्तीमा पस्ने खतरा रहेको बताए । वडा नंं। २७ को न्यूरेचोक पनि उत्तिकै जोखिममा छ ।

यसैगरी चितवनको नारायणगढस्थित नारायणी नदी पुलमा पनि बाढीले सतर्कताको तह पार गरेको छ । नारायणगढ पुलमा ११ मिटरसम्म सतर्कताको तह मानिन्छ, तर अहिले जलसतह १२ मिटर पुगेको छ ।

यस्तै चितवनको पूर्वमा बग्ने राप्ती नदीमा पनि जलसतह बढेको छ । पूर्वी राप्ती नदीको बाढी मापनकेन्द्र रजैयामा जलसतह चेतावनीको तहभन्दा माथि गएको छ । रजैयामा ३।३० मिटरमा चेतावनीको तह मानिन्छ । अहिले पानीको सतह ३।३६ पुगेको छ ।

नदीमा पानीको सतह खतराको तह ९३।३७ मिटर० नजिक पुगेको छ । यसको ट्रेण्ड बढ्ने देखिएको छ । राप्ती नदीमा पानी बढ्दा त्यसको मार पर्यटकीय क्षेत्रमा पर्न सक्छ । यही नदी बढ्दा पटक–पटक सौराहा डुबानमा पार्दै आएको छ । पटिहानी र जगतपुर क्षेत्र पनि जोखिममा पर्ने खतरा हुन्छ ।

सम्बन्धित् समाचार