गृहपृष्ठ खबर रुपन्देहीमा राष्ट्रिय परिचय पत्रका लागि तथ्यांक संकलन गर्ने कार्य सुरु

रुपन्देहीमा राष्ट्रिय परिचय पत्रका लागि तथ्यांक संकलन गर्ने कार्य सुरु

रुपन्देहीमा राष्ट्रिय परिचय पत्रका लागि तथ्यांक संकलन गर्ने कार्य सुरु भएको छ । बिहीबार सदरमुकाम भैरहवामा सिद्धार्थ नगरका प्रमुख हरिप्रसाद अधिकारीको तथ्यांक लिएर जिल्लामा तथ्यांक संकलन सुरु गरिएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले बताए ।

हाललाई नागरिकता पाएका व्यक्तिलाई मात्र राष्ट्रिय परिचयपत्र वितरण गरिने भएकाले नागरिकताको प्रमाणपत्र र विवाहित महिलाले विवाह दर्ताको प्रमाणपत्र साथमा लगेर फारम भर्न सकिने उनले बताए । राष्ट्रिय परिचयपत्रमा हजुरबुबाको नाम, आमाको नाम, पति(पत्नीको नाम, औंठा छाप, शैक्षिक योग्यता, पेशा, अस्थायी र स्थायी ठेगाना आदि समावेश गरिन्छ ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले जारी गर्ने यो परिचय पत्रका लागि जिल्ला प्रशासन कार्यालय परिसरमा दुई वटा डेस्क खडा गरी तथ्यांक संकलन शुरु गरिएको छ । तथ्यांक भरेको केही दिनपछि परिचय पत्र डिजिटल प्रिन्ट भएर आउने व्यवस्था मिलाइएको सहायक प्रजिअ खड्काले बताए । यो वर्ष सरकारले एक करोड नागरिकको व्यक्तिगत विवरणको तथ्याङक संकलन गर्ने लक्ष्य लिएको छ ।

एक उपमहानगरपालिका, ५ नगरपालिका र १० गाउँपालिका रहेको रुपन्देहीमा २०६८ को जनगणना अनुसार ८ लाख ८० हजार एक सय ९६ जनसंख्या रहेको छ ।

सम्बन्धित् समाचार