सैनामैना नगरपालिका झारबैराका ८६ बर्षीय गोले दङ्गोरिया थारु आइतबार खुसी देखिन्थे । लामो समयदेखी स्वामित्व पाउन नसकेको गाउँ ब्लकमा रहेको जग्गाधनी प्रमाणपत्र ( लालपुर्जा ) पाउँदा उनमा खुसीयाली छाएको थियो ।
सैनामैना नगरपालिकाले आइतबार वितरण गरेका १ सय ८८ लालपुर्जा मध्ये दङ्गोरिया थारु पहिलो पुर्जा पाउने व्यक्ति थिए । साविक पर्रोहा वडा नं. १ को कित्ता नं. ५५ रहेका रामकृपाल थारु पनि ४४० दशमलव ३८ हेक्टर क्षेत्रफलमा रहेको जग्गाको पुर्जा पाउँदा खुसी थिए ।
उनले भने – ‘बर्षौदेखीको प्रयास बल्ल सफल भयो । अब बैँकमा धितो राखेर पनि ऋण निकाल्न पाइने भइयो । नगरपालिकालाई धन्यवाद दिन्छु । ’ साविक १ का एक दाजुभाइले भने संयुक्त लालपुर्जा पाएका छन् । पुर्जा पाउनेमा करिब ७० वर्षीय सोफु कठरीया थारु र नाथु प्रसाद कठरीया थारु हुन् ।
त्यस्तै किता नं. ३३ की मान कुमारी सुनार, चिन्न वाटर थारु, गौवारी थारु लगायत १ सय ८८ जनाकै अनुहारमा खुसीयाली छायो । १ सय ८८ जनालाई लालपुर्जा वितरण रुपन्देहीको सैनामैना नगरपालिकाले गाउँ ब्लकमा रहेका जग्गाहरुको लालपुर्जा वितरण गर्ने कार्यलाई निरन्तरता दिएको छ । नगरपालिकाले नापी विभाग रुपन्देहीको सहकार्यमा आइतबार १ सय ८८ जनालाई लालपुर्जा वितरण गरेको हो ।
सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्की, उपप्रमुख बिना राना, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले संयुक्त रुपमा पुर्जा वितरण गरेका थिए । यहाँका साविक पर्रोहा र सालझण्डी गाविस अन्तर्गत रहेका गाउँ ब्लकका झारबैरा, रन्यौरा, उछडीहवा, लेडुवा, पानवारी, दक्षिण दोगराका गाउँब्लकको समस्यामा समुदायमा रहेका १ सय ८८ जनालाई पुर्जा वितरण गरिएको सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले जानकारी दिए ।
उनले गतवर्ष पनि नगरपालिकाले गाउँब्लक जग्गाहरुको करिब ५ सय जग्गाधनी प्रमाण पत्र वितरण गरेको उल्लेख गर्दै साविक दुधराक्ष गाविसका वडाहरु अझै पनि बाकी रहेको बताए । उनले भने – ‘यो वर्ष दुधराक्षका गाउँ ब्लकको नापजाँच र श्रेस्ता तयार गरिनेछ । र आउने असार मसान्त भित्र नै पुर्जा वितरण कार्यलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु ।
कोभिड १९ को संक्रमणका क्रममा पनि नगरपालिकाले नापी विभाग सँग समन्वय गरी पुर्जा वितरण कार्यलाई निरन्तरता दिएको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले उल्लेख गरे । जिल्ला नापी कार्यलयका प्रमुख अजित कुंवरले रुपन्देहीमा विगत लामो समयदेखी बाकी रहेका करिब १४ सय ब्लक नापीहरु मध्ये यस बर्षमा करिब ८० गाउँब्लकहरु वितरण गरिएको जानकारी दिए ।
प्रमुख कुंवरले लालपुर्जा वितरण कार्यमा कोही व्यक्तिले आफ्नो पुर्जा छुटेको वा नपाएको खण्डमा ६० दिन भित्र नापी कार्यलय रुपन्देहीको मद्यौवलियामा सम्पर्क गर्न समेत आग्रह गरे । पहिले नापी गर्दा गाउँवस्तीको घर जग्गा नापी गर्न छुट भएको जग्गालाई गाउँब्लक जग्गा भन्ने गरिएको छ । घर बनाएर बसेका तर नापी भएर पनि पुर्जा नपाएकाहरुलाई नगरपालिकाले नेपाल सरकार भूमि सुधार तथा व्यवस्था मन्त्रालय नापी विभाग रुपन्देहीको सहकार्यमा जग्गा धनी प्रमाण पत्र – लालपुर्जा वितरण गरेको हो ।