गृहपृष्ठ खबर बुटवलमा १० कोरोना संक्रमितको प्लाज्मा थेरापीद्धारा उपचार

बुटवलमा १० कोरोना संक्रमितको प्लाज्मा थेरापीद्धारा उपचार

बुटवल : लुम्बिनी प्रादेशिक अस्पतालद्वारा संचालित बुटवलको कोरोना विशेष अस्पतालले १० जना संक्रमितलाई प्लाज्मा थेरापीद्धारा उपचार परीक्षण गरेको छ। यो अस्पतालले भदौ पहिलो सातादेखि नेपाल स्वास्थ्य अनुुसन्धान परिषदद्वारा अनुमती लिएर प्लाज्मा थेरापी सुरु गरेको हो।

अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाका अनुसार पछिल्लो एक सातामा १० जनालाई प्लाज्मा दिइएको हो। ती मध्ये ३ जनाको मृत्यु भएको छ भने ४ जना भेन्टिलेटरमा छन्। ३ जना आइसीयुमा छन्। भेन्टिलेटरमा रहेका एक जनाको अवस्था गम्भीर भएपनि अन्य ६ जनाको अवस्था भने सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।

बुधबार मृत्यु भएकी कपिलबस्तुकी एक महिलालाई दुई दिनअघि प्लाज्मा थेरापी गरीएको थियो। ती महिलालाई दोश्रो चरणको प्लाज्मा दिने तयारी गरीए पनि बुधबार बिहान उनको मृत्यु भएको डा. थापाले बताए। त्यसअघि उपचारकै क्रममा मृत्यु भएका तिलोत्तमाकी एक महिला र बुटवलका एक पुरुषलाई पनि प्लाज्मा थेरापी गरीएको थियो।

यी तीनवटै केसमा संक्रमितको अवस्था अति गम्भीर भएपछि मात्रै प्लाज्मा दिइएको चिकित्सकहरुले बताएका छन्। सुरुमा प्लाज्मा व्यवस्थापन गर्न समस्या भएकाले संक्रमितहरुलाई समयमै प्लाज्मा दिन नसकिएको कोरोना अस्पतालका कन्भ्यालिसेन्ट प्लाज्मा उपचारका संयोजक डा. सम्राट पराजुलीले बताए।

बुटवलमा पहिलो पटक लुम्बिनी प्रादेशिक अस्पतालकै एक जना डाक्टरले रगत दिएर प्लाज्मा थेरापी सुरु गरीएको थियो। कोरोनाको छुट्टै औषधि पत्ता लागी नसकेको बेला यसबाट हुने मृत्युदर रोक्न सकिन्छ की भन्ने उद्देश्यले प्लाज्मा थेरापी सुरु गरेको अस्पतालका कोरोना फोकल पर्सन डा. थापाले बताए। डा.थापाले प्लाज्मा थेरापीमा आफूहरु प्ररम्भिक चरणमै रहेकाले यसको सफलता असफलताको सम्बन्धमा अहिलै भन्न सकिने अवस्था नरहेको बताए।

चिकित्सकहरुका अनुसार कोरोना संक्रमण भएकाहरुको शरीरमा त्यसको प्रतिक्रियाका लागि प्रतिरक्षा प्रणालीले एन्टिबडी उत्पादन गर्छ। रगतमा हुने त्यो एन्टिबडीले भाइरससंग लड्ने काम गर्छ। संक्रमण निको भएकाहरुको रगतमा हुने त्यही प्लाज्मा संकलन गरी संक्रमितलाई दिइन्छ। जसलाई प्लाज्मा थेरापी भनिन्छ।

त्यसका लागि संक्रमण निको भएकाहरुले रगत दान गर्नुपर्ने हुन्छ। निको भएकाहरुको शरीरमा भएको एन्टिबडीले अरु संक्रमितको उपचारमा सहयोग गर्ने अपेक्षासहित प्लाज्मा थेरापी सुरु गरीएको हो। विश्वका धेरै मुलुकहरुले संक्रमितको उपचारमा प्लाज्मा थेरापी गरेको र त्यसको प्रतिफल सकारात्मक आएकाले नेपालमा पनि यो सुरु गरीएको प्लाज्मा उपचारका संयोजक डा. पराजुलीले बताए।

संक्रमितको शरीरमा अक्सिजनको मात्रा कम भयो फोक्सोमा निमोनीया देखियो र संक्रमण बढ्दै गयो भने उपचारमा संलग्न चिकित्सकहरुकै सल्लाहमा रेम्डेसिभिर औषधिसँगै प्लाज्मा दिइने डा। पराजुलीले जानकारी दिए। पहिलो चरणको प्जाज्मा थेरापीले सकारात्मक प्रभाव देखाउदै गए २४ घण्टापछि अर्को एक पिन्ट प्लाज्मा दिन सकिने उनले बताए।

विशेषगरी मिर्गौलाको गम्भीर समस्या र मुटु रोग भएकालाई भने प्लाज्मा थेरापी गर्नु उचित नहुने डा। थापाले बताए। तर एकथरी चिकित्सकहरु भने प्लाज्मा थेरापीको एकिन प्रतिफल के हुन्छ भन्ने निक्र्योल नभइसकेको अवस्थामा रिर्सच बेसका लागि मात्रै प्लाज्मा दिइनु घातक हुन सक्ने तर्क गर्छन्।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले देशका बिभिन्न १८ वटा अस्पताललाई प्लाज्मा थेरापीको अनुमति दिएको छ। प्रदेश नं। ५ मा बुटवलको कोरोना विशेष अस्पताल र बाँकेको भेरी अस्पतालले प्लाज्मा थेरापी परीक्षणको अनुमति पाएका छन्। नेपालगञ्जको मेडिकल कलेजले पनि अनुमति लिएको बताइएको छ। भैरहवाको भिम अस्पतालले पनि लक्षणसहितका संक्रमितको संख्या बढेपछि रेम्डेसिभिर औषधि र प्लाज्मा थेरापीका लागि अनुमति मागेको छ।

 

सम्बन्धित् समाचार