काठमाडौं : प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटीले डिप्लोमा तथा प्रमाणपत्र तहका लागि भर्ना आह्वान गरेको छ। सिटिइभिटीले आज सूचना प्रकाशित गर्दै २०७७—७८ मा डिप्लोमा तथा प्रमाणपत्र तहका कार्यक्रमहरू अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि भर्ना आह्वान गरेको हो। विद्यार्थीले आफूले चाहेको कार्यक्रम र शिक्षण संस्थामा विद्युतिय माध्यमबाट असोज २५ गते आवेदन दिन सक्नेछन्।
कोरोना महामारीका कारण सिटिइभिटीले अनलाइनबाटै आवेदन दिनसक्ने व्यवस्था मिलाएको हो। सिटिइभिटीले यसअघि सबै कार्यक्रमहरु स्थगित गरेको थियो। प्रमाणपत्र तह वा डिप्लोमा अध्ययनका लागि आवेदन दिन माध्यमिक शिक्षा परीक्षा (एसइई) वा एसएलसी उत्तीर्ण गरेको हुनुपर्दछ।
सिटिइभिटीले उच्च अंक ल्याउने एकजना विद्यार्थीलाई पहिलो वर्ष वा सेमेष्टरका लागि जेहेन्दार छात्रवृत्ति प्रदान गर्नेछ। सिटिइभिटीले नर्सिङ्गका लागि रजिष्ट्रेशन र परीक्षा आवेदन सहित जम्मा शुल्क ४ लाख ७५ हजार, सामान्य चिकित्साका लागि ४ लाख ४ हजार र फार्मेसी कार्यक्रमका लागि ३ लाख ३७ हजार निर्धारण गरेको छ।
सिटिइभिटीले शैक्षिकसत्र २०७७—७८ मा भर्ना भएका विद्यार्थीको अध्यापन आगामी मंसिर ७ गतेदेखि सुरु हुने जनाएको छ। सिटिइभिटीले ३० वटा शैक्षिक कार्यक्रमका लागि भर्ना आह्वान गरेको हो।
प्रमाणपत्र तह नर्सिङ कार्यक्रमका लागि एसएलसी वा सोसरहको परीक्षा कम्तिमा द्वितीय श्रेणीमा उतीर्ण वा ४५ प्रतिशत अंक वा प्राविधिक एसएलसीको कुल पूर्णाङ्कमा ६८.३३ र ६६.६७ प्रतिशत ल्याएको हुनुपर्नेछ। अक्षरांकन पद्धति लागू भएपछिको हकमा अनिवार्य गणित, अंग्रेजी र विज्ञान विषयमा सी ग्रेट प्राप्त गरी समग्र जीपिए न्यूनतम २ प्राप्त गरेको हुनुपर्नेछ।