गृहपृष्ठ अर्थ/वाणिज्य कांग्रेस महामन्त्री कोइरालाले पत्रकारलाई खाममा पैसा बाँड्दै हिँडेको खुलासा

कांग्रेस महामन्त्री कोइरालाले पत्रकारलाई खाममा पैसा बाँड्दै हिँडेको खुलासा

काठमाडौं :   नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पत्रकारहरुलाई ‘दसैं खर्च’ भन्दै खाममा हालेर १५ हजार रुपैयाँ बाँड्दै हिँडेको पाइएको छ । कोइरालाका स्वकीय सचिव भरत तिवारीले खाममा हजारका नोटहरु हालेर ‘शशांक दाइले पठाउनुभएको’ भन्दै बाँड्दै हिँडेका हुन् ।

मंगलबार दिउँसो एक संचारकर्मीलाई तिवारीको फोन आयो । उनले विभिन्न संचार माध्यममा कार्यरत सञ्चारकर्मीलाई भेट्न बोलाए ।

कोरोनाको जोखिमका कारण बाहिर भेटघाट बन्द गरेको बताएपछि तिवारीले ‘दाइले केही सामान पठाउनुभएको छ, कसैलाई पठाइदिए हुन्छ’ भने । र, कार्यालय नजिकै आएका तिवारीले कार्यालय सहयोगीलाई बन्द खाम थमाए, जसमा १५ हजार रुपैयाँ (हजारका १५ वटा नोट) रहेछ ।

कार्यालय सहयोगीले ल्याएको खाममा कुनै कागजात पो छ कि भनेर खोलेर हेरेपछि लगत्तै एक संचारकर्मी राजकुमार श्रेष्ठले तिवारीलाई फोन गरे । खाममा १५ हजार रुपैयाँ भेटिएको बताउँदै यो कसले पठाएको भनेर श्रेष्ठले दोहोर्‍याएर सोधे । तिवारीले ‘महामन्त्री शशांक दाइले दसैंका लागि पठाउनुभएको’ जवाफ दिए ।

‘एक संचारकर्मीले यो रकम फिर्ता लिन आउन आग्रह गर्दा उनी अर्को ठाउँमा (पैसा बाँड्न) पुगिसकेको बताउँदै भने, ‘पछि फोन गर्छु ।’

एक संचारकर्मीले यस्तो रकम आफूले कुनै हालतमा स्वीकार नगर्ने बताएपछि तिवारीले कृष्ण न्यौपानेको नाममा रहेको नबिल बैंकको खाता नम्बर दिए । तिवारीले दिएको सो खातामा कांग्रेस महामन्त्रीले पठाएको १५ हजार रुपैयाँ डिपोजिट गरेर एक संचारकर्मीका तर्फबाट फिर्ता गरिएको छ ।

हेर्नुहोस् डिपोजिट गरिएको कागज-

 

रासस

सम्बन्धित् समाचार