काठमाडौं : आइपिएलमा बुधबार राति भएको खेलमा कोलकता नाइटराइडर्सले खराब ब्याटिङ गर्यो। पहिले ब्याटिङ गरेको कोलकताले २० ओभरमा ८ विकेट गुमाएर ८४ रन मात्र जोड्न सक्यो।
कोलकताको इनिङ ध्वस्त पार्ने क्रममा रोयल च्यालेन्जर्स बेंग्लोरका मोहमद सिराजले कीर्तिमानी बलिङ गरे। उनले चार ओभरमा २ मेडन राख्दा ३ विकेट लिएर ८ रन मात्र खर्चे।
कोलकता ८४ रनमै समेटिएपछि खेलमा ६ रेकर्ड बनेका छन्। ती यस्ता छन् : –
बेंग्लोरका मोहमद सिराज आइपिएल इतिहासको एकै इनिङमा दुई ओभर मेडन राख्ने पहिलो बलर बने। उनले आफ्नो स्पेलको पहिलो दुई ओभरमा कुनै पनि रन नदिइ तीन विकेट लिए। उनले कीर्तिमानी बलिङ गर्ने क्रममा कोलकताका राहुल त्रिपाठी, नितिश राना र टम बनटनलाई आउट गरे।
कोलकताविरुद्धको खेलमा बेंग्लोरले चार ओभर मेडन फ्याँक्यो। दुई मेडन सिराजले फ्याँक्दा क्रिस मोरिस र वासिङ्टन सुन्दरले पनि १-१ मेडन राखे। आइपिएलको इतिसहामा एकै इनिङमा चार मेडन राखिएको यो पहिलो खेल हो। यसअघिका एकै खेलमा दुई भन्दा बढी मेडन थिएनन्।
कोलकताका ब्याट्सम्यानले खेलमा ७२ बल डट खेले। यो आइपिएलमा दोस्रो बढी डट बल खेलिएको खेल हो। यसअघि कोलकताले नै चेन्नईविरुद्ध गत वर्ष ७५ बल डट खेलेको थियो। यो सिजन कोलकताले मुम्बईविरुद्ध पनि ५८ डट बल खेलेको थियो।
पूरा २० ओभर खेलेर अलआउट नभइ कोलकताले बनाएको ८४ रन आइपिएलको अहिलेसम्मकै कम स्कोर हो। यसअघि अलआउट नभइ बनेको कम स्कोर राजस्थानविरुद्धको खेलमा मुम्बईले बनाएको ९४-८ थियो।
३ विकेट लिएर ८ रन दिएका सिराजको बलिङ आइपिएल २०२० को उत्कृष्ट बलिङ हो।
कोलकताका शीर्ष ३ ब्याट्सम्यानले कूल २ रन मात्र जोडे। यो आइपिलको दोस्रो खराब स्कोर हो। यसअघि डेकन चार्जर्सले सन् २००९ मा चेन्नईका शीर्ष तीन ब्याट्सम्यानलाई डकआउट गरेको थियो।