काठमाडौं : टर्की र ग्रिसमा शुक्रबार गएको शक्तिशाली भूकम्पबाट २७ को मृत्यु र आठ सयभन्दा बढी घाइते भएका छन् । अमेरिकी भूगर्भ विभागले ७ रेक्टर स्केलको भूकम्प गएको बताएको छ । भूकम्पले टर्कीको पोर्ट अफ इजमिर सहर बढी प्रभावित बनेको बिबिसीले जनाएको छ । टर्कीमा शक्तिशाली भूकम्पपछि एक सय ७० पटक पराकम्पन गएको छ । जसमध्ये २१ पटकको पराकम्पनको तीव्रता बढी थियो । घाइते तथा मृतक संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
टर्कीको भूगर्भ विभागले एजियन समुद्रको १६।५ किलोमिटर गहिराइमा भूकम्पको केन्द्रबिन्दु भएको जनाएको छ । जुन ग्रिसको आइल्यान्ड समासभन्दा १३ किलोमिटर उत्तरपूर्वमा पर्छ । शक्तिशाली भूकम्पपछि आएको पराकम्पनले टर्की र ग्रिसका सहरमा समुद्री पानी पसेको छ । भूकम्पको झट्काले समुद्रको पानीको स्तर बढेको स्थानीय एजेन्सीहरूले जनाएका छन् । ग्रिसको तुलनामा टर्कीमा बढी घर तथा भवन भत्किएका छन् । टर्कीको रक्षा मन्त्रालयले आपत्कालीन अवस्थामा एक हजार दुई सय १२ रेस्क्यु टोली पठाएको छ ।
टर्कीको आपत्कालीन विभागले वेकराली जिल्लामा कम्तीमा १० घर ध्वस्त भएको जनाएको छ । भग्नावशेषबाट ७० जनालाई जीवितै उद्धार गरिएको छ । धेरैजसो अग्लो अपार्टमेन्टका पर्खाल काम नै नलाग्ने भएको छन् । सन् १९९९ मा टर्कीको उत्तरी भेगमा शक्तिशाली भूकम्प जाँदा १७ हजार व्यक्तिले ज्यान गुमाएका थिए ।
टर्कीका राष्ट्रपति रेजेप अर्दोआनले सरकारले सबै किसिमको सुरक्षा अपनाएको र राहत तत्कालै वितरण हुने घोषणा गरेका छन् । सरकारसँग भएका सबै साधन प्रयोग हुने उनले विश्वास दिलाए । स्वास्थ्थमन्त्री फहरेटिन कोजाले भने हजारौँ सर्वसाधारण सडकमै वास बसेको जनाएका छन् ।
भूकम्पका कारण ग्रिस र टर्कीले एकसाथ मिलेर उद्धारको काम गरिरहेका छन् । पूर्वी भूमध्य सागरमा रहेको हाइड्रोकार्बनको खोजी गर्ने क्रममा यी दुई राष्ट्रबीच विवाद यथावत् नै छ । तर, अहिले त्यो विवाद बिर्सेर एक–आपसमा सहयोग गर्दै अघि बढेका छन् ।