गृहपृष्ठ खबर बाणगंगा नगरपालिकामा कक्षा ६ र ७ को ‘पाठ्यक्रम’ तयार

बाणगंगा नगरपालिकामा कक्षा ६ र ७ को ‘पाठ्यक्रम’ तयार

चार नम्बर जीतपुर : बाणगंगा नगरपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेको छ । आधारभूत तहको कक्षा ६ र ७ मा यसै शैक्षिक सत्रबाट लागु हुने गरी ‘कपिलवस्तु र बौद्ध शिक्षा’ नामक स्थानीय पाठ्यक्रम तयार पारेको हो । स्थानीय सरकारलाई १ सय पूर्णाङ्कको पाठ्यपुस्तक बनाएर अध्यापन गराउन सक्ने संविधानमा व्यवस्था भए अनुसार बाणगंगा नगरपालिकाले पनि स्थानीय पाठ्यक्रम तयार पारेको हो । नगरको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा विहीबार वडा नम्बर ४ झुँगामा रहेको पिस हिमालय रिसोर्टमा ‘स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रबोधिकरण’ कार्यक्रम मार्फत् तयार भएको पाठ्यक्रम र पाठ्यपुस्तक सार्वजनिक गरिएको हो ।

जिल्लाका १० पालिकामध्ये बाणगंगामा पहिलोपटक स्थानीय पाठ्यक्रम लागु गर्न सुरु गरिएको छ । पाठ्यक्रममा कपिलवस्तु जिल्लाको ऐतिहासिकता, सामाजिक, धार्मिक, पुरातात्विक, पर्यटकीय, सांस्कृतिक र आर्थिक महत्व लगायतका विषयहरु समावेश गरिएको छ भने गौतम बुद्धको जीवनी, बौद्ध दर्शन, योग र कपिलवस्तुका सम्पदाहरु लगायतका विषयहरुलाई सूक्ष्म तरिकाले समेटिएको छ ।

‘कपिलवस्तु र बौद्ध शिक्षा’ पाठ्क्रममा आधारित भएर नगरले कक्षा ६ । ७ मा ४६ र ७ मा ४७ पेजको ५० । ५० पूर्णाङ्कको पाठ्यपुस्तक समेत प्रकाशन भएको विहीबार एक कार्यक्रमको आयोजना गरि जानकारी गराएको हो । नगरपालिकाको नगर सभाबाट नीतिगत रुपमा प्रस्ताव गरी कपिलवस्तु र बौद्ध शिक्षा विषयक पाठ्क्रम निर्माण प्रकृया अगाडी बढाएको र अहिले आएर मात्र कार्यान्वयनको चरणमा पुगिएको सोही कार्यक्रमकार्फत् शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख उप–सचिव बाबुराम भट्टराइले जानकारी दिनुभयो ।

पाठ्यक्रम निर्माणको लागि डम्बर शर्माको संयोजकत्वमा समिति गठन गरी १ बर्षसम्म कपिलवस्तुका ऐतिहासिकता, सामाजिक, धार्मिक, पुरातात्विक, पर्यटकीय, सांस्कृतिक र आर्थिक लगायतका विषयमा गहन खोज, अध्ययन, अनुसन्धान गरी पठनपाठनको लागि बिभिन्न विषयवस्तु तयार पार्न सफल भएको बताउनुभयो । उहाँले पाठ्यक्रमको अध्ययनपछि बाल बालिकाहरुले गौतम बुद्धको जीवनी, वौद्ध दर्शन योग लगायतका विषयमा आधारभूत ज्ञान हासिल गर्न सक्ने दावी गर्नुभयो । यस्तै कार्यक्रममा शिक्षा शाखा प्रमुख तथा उप–सचिव बाबुराम भट्टराइले आगामी दिनमा आधारभूत तहका सबै कक्षामा लागु् हुने गरी पाठ्यक्रम तयार गर्ने बताउनु भयो ।

नगर प्रमुख मंगल प्रसाद थारुको अध्यक्षता रहेको कार्यक्रममा प्रतिनिधि सभा सदस्य अतहर कमाल मुसलमानको प्रमुख आतिथ्य रहेको थियो । यस्तै पूर्व मन्त्री तथा राजदूत दीप कुमार उपाध्याय, राष्ट्रिय सभा सदस्य विमला घिमिरेको विशिष्ट आतिथ्यता रहेको थियो । यस्तैगरी नेकपा कपिलवस्तुका अध्यक्ष झविलाल पोख्रेल, काँग्रेस नेता रवि बहादुर काफ्ले, लुम्बिनी बौद्ध विश्व विद्यालयका प्रतिनिधि, जनप्रतिनिधि, पेशागत शिक्षक संगठनका प्रतिनिधि, बिभिन्न विद्यालयका प्रधानाध्यापक तथा प्रिन्सिपल, संचारकर्मी लगायतको सहभागिता रहेको कार्यक्रमको संचालन शिक्षा अधिकृत खिम बहादुर जिसीले गर्नु भएको थियो ।

सम्बन्धित् समाचार