
काठमाडौं : सरकारले बंगलादेशसँग मल किन्ने भएको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले बंगलादेशसँग मल किन्नका लागि सैद्धान्तिक स्वीकृति दिएको हो। बंगलादेशसँग ५० हजार मेट्रिक टन मल किन्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए।
सुरूमा बंगलादेशसँग मल पैंचो ल्याएर पछि तिर्ने सहमति भएको थियो। तर बंगलादेशले पैंचो नदिएपछि सरकारले किन्ने निर्णय गरेको हो। समयमा नआएकै कारण यसपटक किसानले धानका लागि आवश्यक मल पाएका थिएनन्। अब ल्याउन लागिएको मल भने गहुँका लागि हो।
आजको मन्त्रिपरिषद बैठकले नेपालमै मल कारखाना खोल्न आवश्यक तयारी गर्ने निर्णय समेत गरेको छ। मल कारखाना खोल्ने प्रक्रिया अघि बढाउन योजना बनाएर प्रस्ताव पेश गर्न अर्थमन्त्री विष्णु पौडेल, उद्योगमन्त्री लेखराज भट्ट र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिइएको छ।
कृषि मन्त्रालयले मल कारखानाका लागि प्रारम्भिक खाका तयार पारिसकेको छ। त्यसकै आधारमा तीन मन्त्रीले प्रस्ताव तयार पार्नेछन्।







