
काठमाडौं : नापी विभागले विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइको घोषणा मंगलबार गर्ने भएको छ।
मंसिर १० गते बुधबारको मन्त्रिपरिषद बैठकले सगरमाथाको नयाँ उचाइ घोषणा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृति दिएको थियो। सरकारले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ मापन गरेको हो।
२०७२ को भूकम्पका कारण मुलुकको उत्तरी भूभागमा रहेका स्थानको उचाइमा असर परेको तथ्य नापी विभागको अध्ययनले देखाएको थियो। सोही सन्दर्भमा सगरमाथाको उचाइ पनि थपघट भएको हुनसक्ने भन्ने चर्चा चलेपछि नेपालले पहिलोपटक आफ्नै स्रोतसाधनमा सगरमाथाको उचाइ मापन गरेको हो।
मन्त्रिपरिषदबाट स्वीकृति प्रदान भइसकेपछि मंगलबार मंसिर २३ गते विशेष कार्यक्रम बिच मन्त्रालयले औपचारिक रूपमा सगरमाथाको नयाँ उचाइ घोषणा गर्ने भएको हो।
गत वर्ष चीनका राष्ट्रपति सि चिङफिङको नेपाल भ्रमण क्रममा सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्ने सहमति भएको थियो। सोहीबमोजिम नेपाल र चीनका सरकारी टोलीले संयुक्त रूपमा काम गरेका थिए।
यसअघि विभिन्न देशले सगरमाथाको उचाइ मापन गर्दै आएका थिए। पछिल्लो पटक सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन गरी कायम गरिएको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८८४८ मिटर हालसम्म कायम छ।







