
काठमाडौं : नेपाली कांग्रेस अर्घाखाँचीले आज क्रियाशील सदस्यताको सूची केन्द्रीय कार्यालयमा बुझाएको छ। कोरोनाभाइरस महामारीबीच क्रियाशील सदस्यता वितरण र नवीकरणका काम अर्घाखाँची जिल्ला कार्यसमितिले टुंग्याएको हो।
‘सचिव विष्णुप्रसाद भुसालले आज केन्द्रीय कार्यालयमा क्रियाशील सदस्यको विवरण बुझाउनु भयो,’ सभापति विष्णुप्रसाद खनाल ‘मुस्कान’ले भने। पार्टी केन्द्रीय कार्यालयको निर्देशनअनुसार क्रियाशीलको विवरण बुझाउने अर्घाखाँची कांग्रेस पहिलो हो। अरू ७३ जिल्लामा क्रियाशीलको काम भइरहेको छ।
सभापति खनालले कोरोनाको निहुँ देखाएर क्रियाशीलको काम रोक्न नहुने बताए। ‘६१ वडा रहेको अर्घाखाँचीमा हामीले विवादविनै क्रियाशिल सदस्यता टुंग्याएको हो,’ उनले भने, ‘मातहत समितिलाई विश्वास गर्ने हो भने फटाफट काम गर्न सकिन्छ।’
उनले अर्घाखाँचीबाट ११ हजार आठ सय ७० जना क्रियाशीलको नाम केन्द्रीय कार्यालयमा बुझाएको जानकारी दिए। जुन संख्या २०७२ सालमा भएको कांग्रेसको १३ औं महाधिवेशनमा जम्मा ६ हजार मात्रै थियो। ‘हामीले शतप्रतिशत क्रियाशील थप्यौं। योग्यता पुगेका सबैलाई भेदभाव नगरी क्रियाशील सदस्यता दिइएको छ,’ उनले भने।
अर्घाखाँचीमा जस्तै क्रियाशीलको काम समयमै अरू जिल्लाले पनि टुंग्याएको भए मंसिरभित्र केन्द्रीय कार्यालयमा विवरण आउने थियो। त्यसले कार्यतालिकाअनुसार महाधिवेशन गर्ने बाटो खोल्थ्यो। तर अवस्था यस्तो छैन।
गत वर्ष नै सकिनु पर्ने समायोजनका काम तीन जिल्लामा अझै बाँकी छ। प्रदेश नम्बर २ अन्तर्गत बारा र सप्तरी तथा बागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोकमा समायोजनको काम सकिएको छैन। यी जिल्लामा २०७२ सालको अधिवेशनबाट निर्वाचित समितिले नै काम गरिराखेको छ। विधानअनुसार यी तीन जिल्ला समितिमा संघीय संरचनाअनुसार संगठन छैन।
गत कात्तिक २८ को केन्द्रीय कार्यसमिति बैठकले ७७ जिल्लाबाट मंसिर मसान्तभित्र क्रियाशीलको विवरण पठाइसक्न समय तय गरेको थियो।
यो हेर्नुस् पत्र :

तर समायोजन नै नसकिएका तीन जिल्लामा क्रियाशील फारम नै पुगेको छैन। समायोजन नसक्ने जिल्लालाई केन्द्रीय कार्यालयले क्रियाशीलको फारम दिने गरेको छैन।
कांग्रेसको वडास्तरीय कार्यसमितिले क्रियाशील सदस्यता वितरण तथा नवीकरणको काम गर्ने हो। समायोजन नै नसकिएका जिल्लाका वडा तहमा कांग्रेसको संगठन नै छैन त्यसैले क्रियाशील फारम नदिएको हो।
सिन्धुपाल्चोक सभापति विकास लामाले निर्वाचन समितिले समायोजन ढिला गरिदिएको बताए।
‘हामीले समायोजनका काम सकेर निर्वाचन समितिमा फाइल पठाएको धेरै समय भइसक्यो,’ उनले सेतोपाटीसँग भने, ‘हामीले पठाएको फाइल नै नहेरी निर्देशिकाअनुसार समायोजन भएन भनिएको रहेछ। निर्देशिका विपरीत हुने देखियो भने हामी सच्याउन तयार छौं।’
आफूहरूले जिल्लामा गरेको समायोजनबारे कुनै पनि उजुरी नपरे पनि केन्द्रबाट नै नियतवश समायोजन नटुंग्याइएको बताए।
‘समायोजन नटुंगिएको भन्दै क्रियाशील फारम दिएका छैनन्,’ उनले भने, ‘अरू जिल्लाले क्रियाशीलको काम सक्न थालिसके, हाम्रोमा फारम नै दिइएको छैन।’
उनले निर्वाचन समितिकै नियतमाथि प्रश्न उठाएका छन्। राष्ट्रियसभामा दलका नेतासमेत रहेका सांसद राधेश्याम अधिकारीको नेतृत्वमा निर्वाचन समितिमा पाँच सदस्य छन्।
निर्वाचन समितिका संयोजक अधिकारीले सप्तरी र बाराको समायोजनका काम एक साताभित्रै सकिने जानकारी दिए।
‘निर्वाचन समितिको बैठक बस्न सकेको छैन। अब एक साताभित्रै बैठक गरेर सप्तरी र बाराको समायोजनको काम सकिन्छ,’ उनले सेतोपाटीसँग भने, ‘सिन्धुपाल्चोकको प्राविधिक कारण हो। छानविन पनि गर्नु पर्नेछ।’
निर्वाचन समितिमा रहेका सदस्यहरू उपत्यकाबाहिर हुँदा समयमै बैठक बस्न नसक्दा समायोजन सम्बन्धी निर्णयमा केही ढिलाइ भएको उनले बताए।
कांग्रेस केन्द्रीय कार्यसमितिले दिएको समयावधिअनुसार सप्तरी, बारा, सिन्धुपाल्चोकले क्रियाशीलको विवरण मंसिरभित्र केन्द्र पठाउन नसक्ने निश्चित छ।
कांग्रेसले १४ औं अधिवेशन फागुन ७ देखि १० सम्म काठमाडौंमा गर्ने कार्यतालिका बनाएको छ। यो कार्यतालिका अब प्रभावित हुने देखिएको छ।
केन्द्रीय महाधिवेशन गर्नु पहिले वडादेखिका निर्वाचन गर्नुपर्ने हुन्छ। अब फागुनमा महाधिवेशन गर्न त्यसपहिले मातहतका निकायमा अधिवेशन गर्ने समय पर्याप्त नहुने देखिएको हो।
महाधिवेशन प्रभावित हुने भयो भने अब कांग्रेसलाई समयावधि थप गर्न संविधानको साहरा लिनुपर्ने हुन्छ। सभापति शेरबहादुर देउवाको कार्यकाल फागुन १९ गतेसम्म मात्रै छ।
देउवाको चार वर्षे नियमित कार्यकाल गत वर्ष नै सकिएको हो। विधान अनुसार एक वर्ष थप गरेको समय सकिन तीन महिना मात्रै छ। कार्यकाल अब छ महिना थप गर्ने हो भने संविधानको साहारा लिनुपर्छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले समायोजनलगायत विषयमा छलफल गर्न आज पार्टी केन्द्रीय कार्यालय सानेपामा उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्कासहित नेता छलफलमा जुटेको बताए।
कांग्रेसमा समायोजन भएका उपसभापति विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम र सहमहामन्त्री सुनिल थापासहित राप्रपाबाट आएका नेतारकार्यकर्ता समायोजन र क्रियाशील सदस्यता वितरणमा पनि समस्या छ।
यी समग्र विषय टुंग्याउन उपसभापति निधिसहित नेता छलफलमा जुटेका हुन्।








