
काठमाडौं : यसअघि सचिवालयमा पेश भएको राजनीतिक प्रस्ताव फिर्ता लिनेबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै सहमति नभएको दाबी कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले गरेको छ।
बुधबार अपरान्ह स्थायी कमिटी बैठक बस्नुअघि केही नेताहरु साक्षी राखेर भएको ओली(दाहाल वार्तामा उक्त सहमति भएको दाबी गरिएको थियो। तर प्रचण्डले कात्तिक २८ गते पार्टी सचिवालयमा पेश गरेको ओलीविरुद्धको आरोप पत्र र ओलीले मंसिर १३ गते पेश गरेको प्रत्युत्तरपत्र फिर्ता लिनेबारे कुनै सहमति नभएको दाबी एकजना नेताले गरेका छन्।
दाहालनिकट एकजना स्थायी कमिटी सदस्यले आजको छलफलमा सरकारले मंगलबार जारी गरेको संवैधानिक परिषदसम्बन्धी अध्यादेश प्रधानमन्त्रीले फिर्ता गर्ने सहमति भएको बताए। त्यसैगरी प्रचण्ड(नेपाल पक्षले संसदको विशेष अधिवेशन बोलाउन संकलित ८३ सांसदको हस्ताक्षर स्थगित गर्नेबाहेक अन्य थप सहमति नभएको दाबी ती स्थायी कमिटी सदस्यले गरेका हुन्।
उता प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ुजुगलुले पनि अध्यादेश फिर्ता र हस्ताक्षर अभियान रोक्ने बाहेक अन्य सहमति नभएको जिकिर गरेका छन्। सापकोटाले प्रचण्डद्वारा पेश गरिएको राजनीतिक प्रस्ताव फिर्ता गर्ने सहमति भनेर ओली पक्षले प्रोपोगान्डा चलाएको दाबी गरेका छन्।








