
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल पक्षका अनेरास्ववियूले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको विरोधमा आन्दोलन घोषणा गरेको छ।
अनेरास्ववियूका नेता रञ्जित तामाङका अनुसार पहिलो चरणको आन्दोलन सकिएपछि आज दोस्रो चरणको आन्दोलनका कार्यक्रम ल्याइएको छ।
पुस २१ देखि २९ गतेसम्म विभिन्न कार्यक्रम गरी आन्दोलन गरिने उनले जानकारी दिए। उनकाअनुसार पुस २६ गते बयलगाडा प्रदर्शन गर्ने कार्यक्रम पनि छ।
बयलगाडा प्रदर्शनको सांकेतिक अर्थ छ। २०६२र०६३ सालको जनआन्दोलनताका तत्कालीन नेकपा एमालेका नेता रहेका केपी शर्मा ओलीले बयलगाडामा चढेर अमेरिका पुग्नु र आन्दोलन गरेर गणतन्त्र ल्याउँछु भन्नु उस्तै भएको अभिव्यक्ति दिएका थिए।
अहिले पनि प्रचण्ड(नेपाल समूहका नेताहरूले प्रधानमन्त्री ओलीले गणतन्त्र र संघीयता आत्मसाथ नगरेको आरोप लगाउने गरेका छन्।
यस्तै अनेरास्ववियूले ओली सरकारका मन्त्रीहरूलाई कालो झण्डा देखाएर प्रदर्शन गर्ने, क्याम्पसहरूमा कालो ब्यानर राखेर विरोध गर्नेजस्ता आन्दोलनका कार्यक्रम घोषणा गरिएको उनले बताए।








