दाङ : लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीलाई अन्तर्राष्ट्रिय स्तरको राजधानी बनाउने गरी काम अघि बढाइएको छ । राप्ती नदीको किनारलाई समेटेर बनाउन लागेको स्थायी राजधानी पूर्णरुपमा आधुनिक सहरका रुपमा विकास गर्ने योजनामा लुम्बिनी प्रदेश सरकार लागेको छ । त्यसका लागि लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरण गठन गरिएको छ । प्राधिकरणको कार्यालय देउखुरीमै स्थापना गरेर छिट्टै काम पनि थाल्ने तयारी छ ।
स्थायी राजधानीको टुङ्गो लागेपछि प्रदेश सरकारको योजनाअनुसारको व्यवस्थित सहर निर्माणका लागि लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरण गठन गरी सबै योजनावद्ध ढंगले अघि बढाइएको छ ।
प्राधिकरणले पहिलो चरणमा राजधानी घोषणा गरिएको क्षेत्रको स्थलगत अवलोकन गर्ने, राजधानीको लागि गुरुयोजना निर्माण गर्न कन्सल्टेन्सी छनोट गर्नेलगायतका काम सुरु गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुव मजगैंयाले बताउनुभयो ।
‘राजधानीको लागि मास्टर प्लान बनाउने काम भइरहेको छु-प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत मजगैंयाले भन्नुभयो-‘कन्सल्टेन्सी छनोटको काम अब हुन्छ, मास्टर प्लानमा कस्तो सहर हुने त्यसको प्रारुप बन्छ, प्रदेश संरचना बनाउने काम सुरु हुन्छन् । डीपीआर बनाउँछौ । अनि बल्ल निर्माण चरणमा पुग्छौँ।’
तत्काल भवनहरु भाडामा ल्याएर काम चलाउन रुपमा प्रदेश राजधानी चलाउने योजनामा प्रदेश सरकार नभएको र त्यसका लागि आफूहरुलाई योजनावद्ध तरिकाले काम गर्ने निर्देशन प्राप्त भएको मजगैंयाले बताउनुभयो ।
‘राजधानीको काम व्यवस्थित रुपले फिल्डमै आएर गर्नका लागि हाम्रो कार्यालयले तत्कालै देउखुरीबाट काम थाल्दैछ -प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत मजगैंयाले भन्नुभयो-‘अब हामी देउखुरीमा आयौँ अरु कार्यालय पनि बिस्तारै आउँछन् ।’
अन्तर्राष्ट्रिय स्तरको सहर बनाउने योजना
राप्ती नदीको खाली जग्गालाई व्यवस्थित गरेर लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीलाई देशकै नमुना अन्तर्राष्ट्रिय स्तरको सहर बनाउने गरी काम अघि बढाइएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले बताउनुभयो ।
‘जे छ त्यसैलाई टालटुल पारेर चलाउने वा हतारमा राजधानीको संरचना बनाएर फुर्सदमा पछुताउने काम गरिदैँनु उहाँले भन्नुभयो- ‘नेपालमा अहिले जस्ता राजधानी छन । त्यस्तै राजधानी बनाउनका लागि हामीले घोषणा गरेको होइन, अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि घोषणा गरेको हो ।’