
जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन एक दिन पनि नसर्ने दाबी गरेका छन्। उनले आगामी बैशाख १७ गते शुक्रबार नै निर्वाचन हुने किटानका साथ बताएका हुन्। धनुषाको ढल्केवरमा देशकै सबैभन्दा ठूलो सब–स्टेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘निर्वाचन आयोगको काम निर्वाचन गर्ने हो, नगरेर हुन्छ गराउनैपर्छ।’
उनले आफूलाई मधेशी विरोधी भनेर प्रचार गरिएकोप्रति चित दुखाए। ‘केपी ओली मधेश विरोधी भनेर भन्छ तर कुनै मधेशप्रेम भएको एउटा डोमको छोरालाई उठाएर हेर्नुहोस् तर उठाउनुहुन्न, त्यही भएर खोक्रो नारा लगाएर हुँदैन, उर्वर भुमी मधेशको विकास गरौं।’ उनले भने, ‘केपी ओलीलाई मधेशविरोधी भन्छ, तर उसैले मधेशको बाटो, सडक, ढल, सिचाई ल्याउँदैछ, भागिरथले गंगा ल्याएर हामी पहाड छेडेर कोशी ल्याउँछौं, हामी हाम्रो देश बनाउँछौं।’
प्रचण्ड–माधव समुहतर्फ ईङ्कित गर्दै प्रधानमन्त्री ओलीले भने, ‘पार्टीमा उपद्रो गरिरहेका थिए, टेलिभिजनमा उफ्रियो, सरकारलाई गाली गर्यो, यसरी चल्छ पार्टी’ उनले प्रतिप्रश्न गरे। पशुपतिमा १ सय ५१ किलोको सुनको जलप हालिदिन्छु भने परम्परा बिग्रीयो भनेर केही पत्रकार र मिडियाले लेखे। उनले भने, ‘किसानको छोरो तपाइहरु किन पत्रकारिता गर्नुभो, प्रोफेसर किन बन्नुभो, किसानको छोरा किसान, भए भैहाल्थ्यो नि, अनि पो परम्परा बाँच्थ्यो।’ मेरो बुवा प्रधानमन्त्री त थिएनन् तर म प्रधानमन्त्री भएँ, नयाँ कामको लागि पुरानो परम्परा भत्काउनुपर्छ।
प्रधानमन्त्री ओलीले धनुषाको ढल्केवरमा देशको सबैभन्दा ठुलो ४ सय केभीको सब–स्टेशन उद्दघाटन गरेका छन्।








